विराटनगर/ मोरङका खेला छेउहरूमा मापदण्ड विपरीत ढुङ्गागिट्टी स्टक गरी बिक्री वितरण गर्ने गरेको पाइएको छ । अनुमति पाएर मोरङमा सञ्चालन भएका क्रसर उद्योग बाहेकले पनि ढुङ्गागिट्टीको स्टक गरी बिक्री वितरण गर्ने गरेको पाइएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको प्राविधिकसहितको टोलीले गरेको अनुगमनको क्रममा केराबारी, लेटाङ र बेलबारीका खोला नजिकका बस्तीमा ढुङ्गागिट्टी स्टक गरिएको भेटिएको छ ।
मोरङका पाँचवटा स्थानीय तहमा २१ वटा क्रसर उद्योग अनुमति लिएर सञ्चालनमा रहेका छन् । मङ्गलबारदेखि केराबारीबाट प्राविधिकसहितको टोली क्रसर उद्योगहरू निरीक्षण तथा अनुगमनमा निस्किएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता धु्रवबहादुर खड्काले जानकारी दिए । पहिलो दिन प्राविधिक टोलीले केराबारी, लेटाङ र बेलबारीमा रहेका क्रसरमा अनुगमन गरेको उनले बताए । बेलबारीका ५, केराबारीका ३ र लेटाङ नगरपालिकामा रहेका ३ वटा गरी ११ वटाको अनुगमन गरेपछि अन्य स्थानीय तहमा रहेका क्रसरहरूको अनुगमन हुने उनले बताए । आउँदो तीन दिनसम्म प्राविधकसहितको टोलीले अनुगमन सकेर प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।
‘पहिलो दिन गरिएको अनुगमनको क्रममा बेलबारी, लेटाङ र नगरपालिकाका केही ठाउँमा अनुमति पाएको क्रसर बाहेक पनि ढुङ्गागिट्टी स्टक गरिएको जनप्रतिनिधि र स्थानीयसँगको छलफलको क्रममा गुनासो आएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘त्यस ठाउँमा प्राविधकसहितको टोलीले अनुगमन गर्ने काम भइरहेको छ । कतै अनुमति पाएका उद्योगभन्दा बाहिरका व्यक्तिले ढुङ्गागिट्टीको स्टक गरेको देखिएको छ ।’ अनुमति पाएको भन्दा बाहिरका व्यक्तिले खोलाहरूबाट ढुङ्गागिट्टी उत्खनन् गरी स्टक गरेको भेटिए कारबाहीको दायरामा ल्याउने उनले बताए ।
मोरङका सबै क्रसर उद्योगको अनुगमनपछि मापदण्ड विपरीत अवैधरूपले सञ्चालन भएका र अनुमतिभन्दा धेरै प्राकृतिक स्रोत उत्खनन् गरेको भेटिए क्रसर उद्योगहरूलाई कारबाहीको दायरामा ल्याउने बताइएको छ ।
मोरङमा क्रसर र ढुङ्गागिट्टी उत्खनन्को समस्या वर्षाैंदेखि छ । स्थानीय पीडितहरूले हरेक वर्ष मापदण्ड विपरीत खोलाबाट उत्खनन् गरेर वातावरणीय विनाश निम्त्याएको भन्दै क्रसर उद्योगलाई व्यवस्थित गराउन ज्ञापन–पत्र बुझाउने, धर्ना दिने, रिले अनसन बसेर सरकार गुहार्ने गरेका छन् । तर, क्रसर उद्योगी र प्रशासन भने ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने नीति लिएर दोहनमा सक्रिय हुने गरेको पाइएको छ ।
क्रसर उद्योगीहरूले स्थानीय राजनीतिक दल, कर्मचारी र जनप्रतिनिधि सबैलाई सहजै प्रभावमा पारेर तोकिएको मापदण्डभन्दा बढी उत्खनन् गर्ने गरेका छन् । मापदण्डअनुसार क्रसर उद्योगहरू राजमार्ग र खोला किनारबाट ५ किलोमिटर, हाईटेन्सन लाइनबाट १ किलोमिटरको दूरीमा हुनुपर्दछ । यसैगरी शिक्षण, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुराताŒिवक महŒवका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घना बस्ती र खेतीयोग्य जमिनबाट २ किलोमिटरको दूरीमा हुनुपर्दछ ।
मोरङमा सबैभन्दा बढी सुन्दरहरैंचा र बेलबारीमा क्रसर उद्योग रहेका छन् । ती स्थानीय तहमा ५–५ वटा क्रसर छन् । यस्तै उर्लाबारीमा चार, केराबारी र लेटाङमा ३–३ वटा तथा कानेपोखरीमा एउटा क्रसर उद्योग छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको अनुगमन टोलीमा मोरङ प्रहरीका एसपी, सम्बन्धित क्षेत्रमा रहेको मालपोत, नापी कार्यालयका प्राविधिक इञ्जिनियर, जिल्ला समन्वय समितिका पदाधिकारी, घरेलु कार्यालयलगायतका प्रतिनिधिको सहभागिता हुने गरेको छ ।