धरान/ टेलिभिजन प्रसारणका हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ ।

उनीहरूलाई केही दिनअघि लागूऔषध मुद्दामा पक्राउ गरिएको थियो । नार्कोटिक्स कण्ट्रोल ब्यूरो (एनसीबी) ले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि गाँजा सेवन गरेको आरोप छ । उनीहरूको घरबाट लागूऔषध गाँजा बरामद गरिएको अधिकारीहरूले जनाएका छन् ।

एनसीबीले भारती सिंहलाई मुम्बईको अँधेरीस्थित घरबाट पक्राउ गरेको र भोलिपल्ट श्रीमान्लाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार सिंहको घरमा ८६ दशमलव ५ ग्राम लागूऔषध फेला परेको थियो । मनोरञ्जन उद्योगमा अवैध लागूऔषधको प्रयोग हुने गरेको आधारमा सिंहको घरमा छापा मारेको थियो ।

गत जुन महिनामा बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्या घटनापछि कलाकारहरूमा लागूऔषधको घटना जोडिँदै आएको छ । त्यसक्रममा थुप्रै कलाकारहरूलाई हिरासतमा लिएर अनुसन्धान गरेको थियो । जसमध्ये केही अहिले पनि पुर्पक्षका लागि थुनामा छन् ।