धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले सिन्धुपाल्चोकका बाढी र पहिरो पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले कोभिड महामारीका बीच पनि ‘कोसेली’ परियोजनामार्फत् राहत वितरण गरेको छ ।

विगत तीन वर्षयताको वर्षायाममा आएको बाढीपहिरोबाट ७ सय घरपरिवार विस्थापित भएका थिए । ती विस्थापितले हालसम्म खासै राहत प्राप्त नगरेकाले तिनै विस्थापितमध्येका केही परिवारलाई लक्षित गरेर राहत सङ्कलन र वितरण गरेको रो. रुची आचार्यले बताइन् । उनका अनुसार रोट्रयाक्ट क्याड्युसियस (मुम्बई), रोट्रयाक्ट क्लब अफ फ्याकल्टी अफ मेडिसिन युनिभर्सिटी अफ कोलम्बो, रोट्रयाक्ट क्लब अफ ढाका कमर्स कलेज र इन्टर्याक्ट क्लब अफ विष्णु मेमोरियल धरानको संयुक्त पहलमा सङ्कलित रकम प्रदान गरिएको हो ।

रोट्रयाक्ट क्लब अफ धरान घोपाका रो. रिवाज अधिकारी र रो. आकाशकुमार गिरीले विभिन्न दाताबाट सङ्कलित रकम सिन्धुपाल्चोकको लिडी पुगेर पहिलो चरणमा ८३ हजार रुपैयाँ हस्तान्तरण गरेको बताए । उक्त अवसरमा जुगल गाउँपालिकामा गएको पहिरोबाट व्यक्तिगत क्षति भएका २९ परिवारलाई २ हजार रुपैयाँको दरले कोसेली वितरण गरी सहयोग गरिएको आचार्यले बताइन् ।

उनका अनुसार प्रभावित परिवारका बालबालिकाहरूलाई सुरक्षित शैक्षिक भविष्य सुनिश्चित गर्न एसओएस बालग्राम काभ्रेले सञ्चालन गरेको बैङ्क खातामा १२ हजार रुपैयाँ जम्मा गरिएको छ । क्लबले फीड द नीड नेपालमार्फत् पीडित परिवारलाई खाद्यसामग्री उपलब्ध गराउनका लागि १३ हजार रुपैयाँ पनि हस्तान्तरण गरेको परियोजना संयोजक रो. अमनकुमार साह र रो. रिवाज अधिकारीले बताए ।