धरान/ दिवङ्गत राजा वीरेन्द्र शाहले प्रयोग गरेको निजनिवास ‘श्री सदन’ लाई प्रदर्शनीमा ल्याइएको छ ।

अब सर्वसाधारणका लागि पनि वीरेन्द्र शाहले प्रयोग गरेको निवास अवलोकनका लागि खुला गरिएको छ । २०५८ सालमा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि ‘श्री सदन’ मा ताला लागेको थियो । शनिबार पर्यटनमन्त्री योगेश भट्टराईले श्री सदनको उद्घाटन गर्दै सबैका लागि खुला गरिएको उद्घोष गरे ।

अब नेपाली नागरिकले नारायणहिटी दरबार, श्रीपेचसँगै राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गरेको निवास पनि अवलोकन गर्न पाउने भएका छन् । आइतबार (आज) बाटै श्री सदन खुला गरिएको छ । हालसम्म नारायणहिटी दरबारको ५२ कक्षमध्ये ३२ वटा कक्ष मात्रै खुला गरिएको छ ।

श्री सदनमा राजा वीरेन्द्र र रानी ऐश्वर्यले प्रयोगमा ल्याएका सामग्रीहरूलाई नागरिकले प्रत्यक्ष हेर्न पाउने भएका छन् । उद्घाटनको क्रममा मन्त्री भट्टराईले इतिहासलाई आजीवन संरक्षण गर्नुपर्ने बताए । नारायणहिटी दरबार र श्रीपेच अवलोकनका लागि यसअघि नै खुला गरिएको थियो । तर, श्री सदन हालसम्म बन्द रहेकाले अब यसलाई ऐतिहासिक दस्तावेजको रूपमा मानेर सरकारले खुला गरेको हो ।