धरान । नेपालीहरुको चाड तिहार नजिकै आईरहेको बेला गायिका जुनी खालिङ राई तिहार गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।

गायिका राईको तिहार गीत ‘सयपत्री फुल्यो, मखमली फुल्यो’ उनकै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । जुनीको स्वर, बसन्त लिम्बु (सम्भु)को शब्द र कृष्णकुमार राईको संगीत रहेको गीतको भिडियोको निर्देशन पनि गायिका जुनीले नै गरेकी हुन् । भिडियोमा जुनीसँगै जीवन, रेजिना र साथीहरुले अभिनय गरेका छन् ।

भिडियोको छायाँकन र सम्पादन राज वान्तवाले गरेका हुन् । भिडियोमा तिहारको देउसी भैलो र रमणीय सयपत्रीका दृश्य समेटिएका छन् ।

धनकुटामा रहेर लोक तथा आधुनिक शैलीका गीत गाउँदै आएकी जुनीले चाडपर्वका गीत पनि गाउँदै आएकी छिन् । उनले यसअघि दशैं सम्बन्धि गीत पनि सार्वजनिक गरेकी थिईन् ।