धरान । खानेपानी संस्थान धरान शाखालाई खानेपानी बोर्डमा गाभ्ने निर्णय तत्काल कार्यान्यवन नगर्न दबाव दिंदै दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले मङ्गलबार धरान उपमहानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
उपमहानगरपालिकाले भोलि (कार्तिक २६ गते) खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । संघर्ष समितिले धरान खानेपानी आयोजनामा ठूलो आर्थिक भ्रष्टाचार भएकाले छानबिन गरेर दोषीलाई कारबाही नगरी तत्काल हस्तान्तरण नगर्न माग गर्दै प्लेकार्ड र नारा जुलुस सहित उपमहानगर कार्यालय घेराउ गरेको हो ।
संघर्ष समितिले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ७ बुँदे माग पत्र समेत बुझाएको छ । समितिले बुझाएको माग पत्रमा धरान खानेपानी आयोजनाले २०७२ साल जेठ महिनादेखि नै धारा र खानेपानी वितरण गर्ने भनेर जनताबाट १० हजार दश देखि १५ हजार दश रुपैयाँसम्म लिएको तर हालसम्मपनि सयौंले धारा र खानेपानी नपाएकाले तत्काल वितरण गर्नुपर्ने माग गरेको छ । धारा वितरण नगर्ने भए व्याजसहित पैसा फिर्ता गर्न माग गरिएको छ ।
त्यस्तै आयोजनाले धराने जनतासँग २०७१ कार्तिक २२ मा गरिएको ११ बुँदे सम्झौता अनुसार खानेपानी उत्पादन भएको प्रमाण देखाउनु पर्ने, धारा जडान र महशुल सरकारी दरमा लागु हुनु पर्ने, आयोजनाको बजेट कसरी र कति खर्च भयो भन्ने लेखा परिक्षण गरी प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, खानेपानी बोर्डको आधिकारिकता र विश्वसनियतालाई प्रष्ट पारी कार्यविधि सार्वजनिक गर्नु पर्ने माग गरेको संघर्ष समितिका संयोजक हर्क साम्पाङले बताए ।
संघर्ष समितिले यी मागहरु पुरा नगरी खानेपानी संस्थान बलजफ्ती हस्तान्तरण नगर्न चेतावनी समेत दिएको छ । भ्रष्टाचार छानबिन गर्न, लकाउनका बेला खनिएका २ वटा वेल १० दिन नपुग्दै भास्सिनुको कारण छानबिन गर्न र यदी यस्ता भ्रष्टाचारमा आफु मुछिएको भए नैतिकताका आधारमा राजीनामा दिन नगर प्रमुख राईसँग माग गरिएको छ ।
यसअघि जनता समाजवादी पार्टी धरान नगर समितिले पनि विज्ञप्ती जारी गरेर खानेपानी संस्थान तत्काल बोर्डमा नगाभ्न माग गरेको थियो ।