यासोक/ पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीस्थित लुम्बुघाटको पक्की पुल अलपत्र बनेको दशक पुग्न लागेको छ ।

पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको सदरमुकाम म्याङ्लुङ जोड्ने पक्की पुल ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र बनेको हो । ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवालाई उल्टो थप एक करोड रुपैयाँ थप गर्दै पुललाई निरन्तरता दिन भनिएको छ । हाल पुलको आधा मात्रै काम भएको छ । यो पुल सडक डिभिजन कार्यालय धनकुटाको जिम्माभित्र पर्छ । २०६८ सालमा १५ करोड ९० लाख २५ रुपैयाँमा ठेक्का पाएको निर्माण सेवाले पटक–पटक गरेर समयावधि थप्दै आइरहेको छ ।

फेरि चालु आर्थिक वर्षमा म्याद थप गरिएको छ । अझै पूरा हुने सम्भावना न्यून रहेको स्थानीयवासीको गुनासो छ । ‘पटक–पटक म्याद थप गरेर दश वर्ष बित्दा पनि पुलको काम पूरा नहुँदा मजस्ता स्थानीय निराश छौं’ स्थानीय खेमराज निरौलाले भने, ‘म्याद थपियो भन्ने सुन्छु, पुल बन्ने अझै कुनै ठेगान छैन ।’

उनका अनुसार पाँचथरले सङ्घीय सरकार र प्रदेश सरकारमा गरी दुई मन्त्री पाएको छ । ती पनि शक्तिशाली मन्त्रालयमा छन् । तर, काम होला भन्ने उनलाई लाग्न छाडेको छ । पाँचथरबाट सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ बनेका छन् । उनले समय–समयमा ‘योजना अलपत्र पार्ने र काम नगर्ने ठेकेदारलाई कारबाही हुने’ अभिव्यक्ति दिँदै आएका छन् ।

तर, आफ्नै जिल्ला जोड्ने पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही नगरेको स्थानीय बताउँछन् । कमसल सामग्री प्रयोग भएको र योजनाको काममा ढिलासुस्ती गरेको भन्दै यो विषयमा पहल गर्ने वचन दिएका उनी स्वयम् पूर्वाधार मन्त्री भएर पनि कारबाही प्रक्रिया अगाडि नबढेको स्थानीय बताउँछन् । पाँचथरकै क्षेत्र नं. ख बाट निर्वाचित भएका इन्द्रबहादुर आङ्बो

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । तर, पाँचथरका विकास निर्माणका काममा ढिलासुस्ती हुँदासमेत ‘एक्सन’ नलिनुलाई पाँचथरबासी ‘निरीहपनको संज्ञा’ दिन्छन् ।
त्यस्तै पाँचथरको कुम्मायक र तुम्बेवा जोड्ने सावाँ सेराको पक्की पुलको अवस्था पनि त्यस्तै छ ।

तमोर कोरिडोर सडकमा पर्ने पुल लामो समयदेखि अलपत्र बनेको हो । उत्तर–दक्षिण लोकमार्ग ताप्लेजुङले ४ करोड ८१ लाख ७० हजार रुपैयाँ लागतमा मैनाचुली वाईपीआर जेभीलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले २०७४ सालदेखि २०७६ साल भदौसम्म योजनाको काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, सो समयावधिमा काम पूरा नहुँदा योजनाको काम अलपत्र अवस्थामा रहेको उनले बताए । निर्माण कम्पनीले पुनः २०७६ पुस ४ गतेसम्म म्याद थप गरी काम गर्दै आएको छ ।

ठेकेदार कम्पनीले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गलत बनेकाले समय लागेको बताउँदै आइरहेको छ । कार्यालयका इञ्जिनियर सञ्जीवकुमार गुप्ताले सङ्घीय संरचनाअनुसार कार्यालय कहाँ रहने भन्ने टुङ्गो नहुनु र पुलको डीपीआर गलत हुँदा योजनाको काम ढिलो भएको स्वीकार गरे । डीपीआर रिपोर्ट सच्याउनको लागि सडक विभागमा पठाइएकाले अब पुलको काम अघि बढ्ने गुप्ताले बताए । बर्खामा सवारी साधन आवत–जावत गर्न कठिनाइ हुँदै आएको छ । मानिसहरू हिँड्डुल गर्न झोलुङ्गे पुलको सहायता लिँदै आएका छन् । तर, तमोर कोरिडोर सडकमा गुड्ने चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन बर्सेनि जोखिम मोल्न बाध्य छन् ।