धरान/ वराहक्षेत्र नगरपालिका–१ को पहाडी क्षेत्र चियाबारी, कुलुङ गाउँमा अचेल कतै कुखुरा, बाख्रा पाल्ने खोर निर्माण हुँदैछ भने कतै होम–स्टेका लागि घर मर्मतको काम भइरहेको छ ।

चियाबारीमा केही वर्षयता स्थानीय अर्जुन कुलुङलगायतले सञ्चालन गरेको स्ट्रबेरी खेतीले गाउँमा आन्तरिक पर्यटकको आकर्षण बढायो । फर्ममा उत्पादित स्ट्रबेरी र तरकारीहरू धरान बजारमा बिक्री गरेपछि फर्मको आम्दानी पनि बढ्यो, स्थानीयले रोजगारी पनि पाए । अहिले स्थानीय युवाहरू धमाधम व्यावसायिक कृषि र कृषि पर्यटनका लागि काम गरिरहेका छन् ।

चियाबारी, कुलुङगाउँका बासिन्दा केही वर्षअघिसम्म डोकोमा केरा, अदुवा, बेसार जस्ता स्थानीय उत्पादनको गह्रौं भारी बोकेर घण्टौंको हिँडाइपछि धरान झर्थे । अनि ती उत्पादन बिक्री गरेको पैसाले घरमा आवश्यक सामान किनेर फर्किन्थे ।

अहिले गाउँसम्म कच्ची सडक पुगेको छ । हिँडेर, मोटरसाइकल वा गाडीबाट चियाबारी पुग्नेहरू बढिरहेका छन् । बाहिरिया मान्छेहरूको समेत आवत–जावत बढ्न थालेपछि निर्वाहमुखी कृषि पेशा गर्दै आएका स्थानीयवासी कृषिलाई व्यावसायिक रूपमा अघि बढाउन लागिपरेका छन् । गाउँमा अचेल धमाधम कृषि फर्महरू खुल्न थालेका छन् । स्थानीय युवाहरू कृषिसँगै पर्यटनलाई जोड्ने अभियानमा छन् ।

कुलुङ जातिको यो बस्तीमा अहिले ‘कुलुङगाउँ घरबास’ (होम–स्टे) सञ्चालनको तयारी हुँदैछ । युवाहरू आफ्ना घरलाई होम–स्टेका लागि तयार गरिरहेका छन् । अहिले प्रतिघर १० जना बस्न मिल्ने गरी ५ वटा घर होम–स्टेका लागि तयार पारिँदै छ । होम–स्टेका लागि आफ्नो घर तयार पारिसकेका दीपक कुलुङ भन्छन्, ‘पाहुनाहरूलाई यहाँका रमाइला ठाउँ घुमाउने र यहीँको उत्पादन चखाउने गरी होम–स्टे तयारी गर्दैछौं ।’

धरानबाट माछामारा भञ्ज्याङ, भालुढुङ्गा हुँदै पुग्न सकिने चियाबारी समुद्री सतहदेखि करिब १४ सय मिटरको उचाइमा रहेको चियाबारी नजिकै पाण्डव डाँडा, पौराणिक सूर्यकुण्ड, भवानीथान लगायतका स्थलहरू छन् । यो क्षेत्रबाट तराईका रमणीय फाँट र सप्तकोशी नदीको आकर्षक दृश्य हेर्दै पर्यटकहरू रमाउन सक्छन् । साइक्लिङ, हाइकिङ र घुमघामका लागि आन्तरिक पर्यटकहरू आउने गरेको चियाबारीमा कुलुङ समुदायको संस्कृति पनि बुझ्न सकिने स्थानीय तपेन्द्र राई बताउँछन् । उनी भन्छन्, ‘यहाँ आउने पर्यटकहरूले घुमघामसँगै हाम्रो संस्कृति र मौलिक खानाको पनि स्वाद लिन सक्छन् ।’

स्थानीय युवाहरूले ‘चियाबारी एग्रो टुरिजम एण्ड रिसर्च सेण्टर प्रालि’ दर्ता गरेर लोकल कुखुरा, बाख्रा र कालिज पालनका लागि खोर निर्माण गरिरहेका छन् । कृषि र होम–स्टेका लागि स्थानीय युवाहरूको नेतृत्व गरिरहेका गङ्गाराम कुलुङ चियाबारी, कुलुङगाउँ पहिलाभन्दा बदलिएको बताउँछन् । उनी भन्छन्, ‘पहिला हामीले धेरै दुःख ग¥यौं, अहिले कृषिमा त्यस्तो दुःख गर्नुपर्दैन भन्ने सोचेर युवाहरू मिली कृषि फार्म र होम–स्टे सञ्चालनको तयारी गरेका हौं ।’

chiyabarii1

स्ट्रबेरी खेतीमा कृषक अर्जुन कुलुङ

chiyabari

तरकारी तथा स्ट्रबेरी फार्म

IMG_2573

हाेमस्टेमा पाइने कुलुङ समुदायकाे माैलिक परिकार वाचिपा

IMG_2167

IMG_2173

सुर्यकुन्ड

IMG_2193

सुर्यकुन्डमा यात्री चाैतारा