विराटनगर/ वडाध्यक्षका आफन्त रहेको उपभोक्ता समितिमार्फत् विराटनगरमा निर्माणाधीन सडकको ‘रिटेनिङ वाल’ निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ ।
विराटनगर महानगरपालिका–१९ को ‘खवासटोल पैनीदेखि पश्चिम हुँदै विराटनगरको १९ नंं. वडा कार्यालय’ जोड्ने सडकको दुवैतर्फको रिटेनिङ वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको हो ।
विराटनगर महानगरपालिको ३१ लाख ६७ हजार ४ सय १३ रूपैयाँ र उपभोक्ताको ५ लाख ५८ हजार ७९ रुपैयाँ गरी जम्मा ३७ लाख २५ हजार १ सय ९२ रूपैयाँ लागतमा २ सय ९८. ५० मिटर सडकको रिटेनिङ वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएपछि निर्माण कार्यमा रोक लगाइएको छ । विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीसहितका प्राविधिक टोलीले आइतबार गरेको अनुगमनको क्रममा ‘स्टिमेट’ भन्दा बाहिर गएर गुणस्तरहीन काम गरेको पाइएपछि तत्काल निर्माणमा रोक लगाएको हो ।
स्टिमेटभन्दा बाहिर गएर कमसल सामग्रीहरूको प्रयोग गरेको कारणले निर्माण भएको रिटेनिङ वालको ढलाइ अहिले उप्किन थालेको विराटनगर–१९ का स्थानीय अन्तरबिर खवासले बताए । ‘निर्माण पूरा भएको रिटेनिङ वालको ढलाइ अहिले उप्किन थालेको छ’ उनले भने, ‘यहाँ स्टिमेटभन्दा बाहिर गएर कमसल सामग्री प्रयोग गरिएको छ । त्यही भएर पनि निर्माण सकिएको रिटेनिङ वालको ढलाइ अहिले नै उप्किन थालेको हो ।’ इञ्जिनियरले तयार गरेको स्टिमेटमा ओपीसी सिमेण्टको प्रयोग गरिनुपर्ने उल्लेख छ ।
तर, यहाँ पीपीसी सिमेण्ट प्रयोग गरेको पाइएको हो । ओपीसीभन्दा १ सयदेखि १ सय ५० रुपैयाँ प्रतिबोरा सस्तोमा पीपीसी सिमेण्ट पाइने भएकोले यसको प्रयोग गरेको कारणले गर्दा पनि ढलाइ उप्किन थालेको प्राविधिकको भनाइ छ । उपभोक्ता समितिका अध्यक्ष रीता सरदार र विराटनगर–१९ का वडाध्यक्ष बद्रीनारायण सरदारको मिलेमतोमा कमसल सामग्री प्रयोग गरेको यहाँका स्थानीयको आरोप छ । रीता वडाध्यक्ष बद्रीनारायणका आफन्त पर्दछन् । उनीहरूले सस्तो मूल्यको सिमेण्टको प्रयोग र अन्य कमसल निर्माण सामग्रीहरू प्रयोग गरी कम लागतमा काम सकेर अनियमितता गर्ने योजना रहेको स्थानीयको भनाइ छ ।
अनुगमनको क्रममा स्टिमेटभन्दा बाहिर गएर रिटेनिङ वाल निर्माण भएको पाइएपछि तत्काल निर्माण कार्यमा रोक लगाएको विराटनगर महानगरपालिकाको शहरी विकास महाशाखाका प्रमुख इञ्जिनियर गोपाल पोखरेलले बताए । ‘रिटेनिङ वालको माथिल्लो ढलाइमा ओपीसी सिमेण्ट प्रयोग गर्नुपर्ने हो । यहाँ त्यो प्रयोग भएको देखिएन’ उनले भने, ‘हामीले ओपीसी सिमेण्टको प्रयोग गर्नू भनेका थियौं । अनुगमन गर्दा स्टिमेटभन्दा बाहिर गएर काम गरेको पाइयो ।’ स्टिमेटअनुसार काम गर्न लगाउने उनको भनाइ छ ।
४० फिटको सडकको दुवैतिर रिटेनिङ वाल निर्माणको गत असार १२ गते सम्झौता भई आउँदो फागुन मसान्तसम्ममा निर्माण कार्य पूरा गर्ने उद्देश्य अनुरूप अहिले काम भइरहेको छ । सडकको दुवै साइडको २९८.५० मिटर रिटेनिङ वालको उचाइ ८० सेण्टिमिटरको निर्माण गरिनुपर्ने विराटनगर महानगरपालिकाका जुनियर इञ्जिनियर फागुराम राजवंशीले जानकारी दिए । उनका अनुसार ८० सेण्टिमिटर उचाइमा ४० सेण्टिमिटरमा १५ इञ्चको चौडाइ र ४० इञ्चमा १० इञ्चको चौडाइमा वाल निर्माण गरिनुपर्ने सम्झौतामा उल्लेख छ ।
विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले स्टिमेटअनुसारको निर्माण सामग्री अनुगमनको क्रममा प्रयोग नगरेको पाइएकोले कारबाहीको प्रक्रिया अगाीड बढाउने बताइन् । ‘अनुगमनको क्रममा हामीले निर्माण गर्ने उपभोक्ता समितिका अध्यक्षलाई पनि बोलाएका थियौं’ उनले भनिन्, ‘रिटेनिङ वालको निर्माणस्थलमा उहाँ (उपभोक्ता समितिको अध्यक्ष) आउनुभएन । हामीले गरेको अनुगमनमा स्टिमेटभन्दा बाहिर गएर काम गरेको भेटिएको छ ।’
सम्झौता अनुसार काम भएको पाइएन भने भुक्तानी रोक्का गरी कारबाहीको प्रक्रिया पनि अगाडि बढाउने उनले बताइन् । गुणस्तरहीन काम गर्नेलाई महानगरपालिकाले कारबाहीको दायरामा ल्याउने हुँदा विकास निर्माणमा गुणस्तरीय काम गर्न सबैलाई खबरदारी गर्न उपप्रमुख कार्कीले आग्रह पनि गरिन् ।
विराटनगर–१९ का वडाध्यक्ष बद्रीनारायण सरदारले उपभोक्ता समितिलाई गुणस्तरीय काम गराउनू भन्दै आएको बताए । आफ्नो वडाभित्रको विकास निर्माणमा गुणस्तरीय काम गराउन आफू लागिपरेकाले कुनै पनि अनियमितता नगरेको उनको भनाइ छ ।
यता उपभोक्ता समितिका अध्यक्ष रीता सरदारसँग सडकको रिटेनिङ वाल निर्माणको विषयमा ब्लाष्टले बारम्बार गरेको सम्पर्कमा उनी सम्पर्कमा आइनन् ।