इटहरी/ साथीको पैसा चोरेको आरोप लागेकी एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

इटहरी–१२ खनारस्थित रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मोरङ लेटाङकी २३ वर्षीया सिर्जना राई आफू बस्ने घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनीमाथि केही दिनअघि मात्रै साथीको पैसा चोरेको आरोप लागेको थियो ।

सोही आरोप सहन गर्न नसकेर झुण्डिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । तर, प्रहरीले यथेष्ट प्रमाण जुटाउनका लागि मृतकको शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

मिल्समा कार्यरत उनको साथीले आफ्नो पैसा सिर्जनाले चोरेको भन्दै उद्योगको प्रशासनमा उजुरी दिएकी थिइन् । उजुरीपछि प्रशासनले घटनाबारे बुझ्दा मृतक सिर्जनाले आफूले नचोरेको दाबी गर्दै ‘तिर्नुपरे तिरौंला’ भन्दै कागज गरेको प्रशासनले जनाएको छ ।

कागज गरेको केही समयपछि पैसा तिर्दिनँ भनेपछि पैसा हराउने साथीले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीमा उजुरी परेको रात नै सिर्जना झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । प्रहरीले मृतक सिर्जनाको साथीको नाम गोप्य राखेको छ ।