विराटनगर। मोरङको ग्रामथान गाउँपालिका – ७ नयाँबस्तीका सुकुम्बासीहरूले जस्तापाता लगाएको नयाँ पक्की घर पाएपछि खसियाली छाएको छ ।

सुनसरी मोरङ सिचाइ आयोजना अन्र्गतको नहरको ढिलमा बसेका ग्रामथानका ३४ जना सुकुमबासीहरूको घर सरकारले बनाइदिएपछि खसीयाली छाएको हो ।

नहरको ढिलमा बनाएको घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका यहाँका ३६ जना सुकुम्बासीहरू मध्ये ३४ जनाले ‘जनता आवस कार्यक्रम अन्तर्गत’ एटेच शौचालयसहितको तीन कोठाको पक्की नयाँ घर शुक्रबार पाएका छन् ।

संघिय संसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रम, तराइ मेधश सम्बृद्धि कार्यक्रम र ग्रामथान गाउँपालिकाको ३ करोड ४ लाख ४१ हजार ३४ रुपैयाँ बजेटमा निर्माण भएको घर हस्तान्तरण गरिएको हो ।

सुकुम्बासीको ३६ वटा घर निर्माण गरिएको भएपनि तयारी भएको ३४ वटा घर शुक्रबार एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरियो । दुई वटा घर निर्माणधिन अवस्थामा रहेको छ । निर्माण पूरा भएपछि बाँकी रहेको दुई वटा घर पनि हस्तान्तरण गरिने भएको छ ।

तराइ मधेश समृद्धि कार्यक्रम अन्र्गत ६७ लाख ९ हजार १ सय ९६, स्थानिय पूर्वाधार विकास कार्यक्रम अन्र्गत १ करोड १९ लाख ८६ हजार ९५ र ग्रामथान गाउँपालिको १ करोड १७ लाख ४५ हजार ७ सय ७३ रूपैयाँमा घर निर्माण भएको हो ।

आर्थिक अवस्था कमजोर भएर घर बनाउन नसकी अस्थायी संरचनामा कष्टकर जीवन गुजार्दै आएकी ग्रामथान गाउँपालिका ७ की प्रमिला चौधरीले अब टहरामा गर्मीमा मछेट, वर्षामा पानी चुहेर हिलाम्मे र जाडोको चिसो सिरेटो खानु नपर्ने भन्दै खुसी भइन् । ‘अस्थाही टहरमा धरै कष्टकर तरिकाले जीवन यापन गर्नु परेको थियो,’ बिगतमा पाएको दुःख सुनाउँदै पक्की घरमा बसेकी चौधरीले भनिन्, ‘बर्खामा हुने डुवान र जाडोमा हुने सीतलहरको समस्याबाट अन्त्य भएको छ ।’

अस्थायी संरचनामा वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन निकै समस्या हुने गरेको थियो । यहाँका सुकुम्बासीहरूको बसोबासको टुंगो लागेपछि दैनिक जीवनयापन गुजार्न सहज भएको उनीहरुको भनाई छ । ‘सरकारले पक्की घर बनाइदियो,’ सन्तोष कुमार चौधरीले भने, ‘अब जीवनयापनमा सहज हुने भयो ।’

पक्की घर बनेपछि वर्षामा धेरै राहत मिलेको छ । ‘खाना पकाउने अन्न र दाउरासमेत जोगाउन सकिएको थिएन,’ उनले भने, ‘अहिले ठूलो घरमा बस्न पाइयो । जस्ताको छानोमुनि स्वर्ग पाएजस्तो भएको छ ।’ उनीहरूले घर भित्र शौचालय बनेको छ ।

यहाँका सुकुम्बासीहरूलाई छोराछोरी हुर्काउन र बिहान–बेलुकीको छाक टार्न निकै गाह्रो थियो । ‘पेटको आगो निभाउँदै ठिक्क थियो, चुहिएको छानो कहाँबाट छाउन सक्नु,’ नयाँ घर पाएकी मन्जु कुमारी सरदारले भनिन्, ‘अहिले पक्की घर, जस्ताको छानो सपनाजस्तो लागिरहेको छ ।’ मुन्टो लुकाउने थलो दरिलो भएपछि गरिखाने आत्मविश्वास नै बेग्लै भएको उनले हर्षिक मुद्रामा बताइन् ।

सुकुम्बासीहरूलाई बनाइदिएको पक्की घर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, संघिय संसद अमनलाल मोदी, उद्योग वन, पर्यटन तथा वातवरण राज्यमन्त्री विजयी विश्वासलगायलको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

घर नभएका नागरिकलाई आवस : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आवस नभएको प्रदेशका नागरिकलाई सरकारले अब घर बनाइदिने सुनिश्चिता गरेको बताएका छन् । मोरङको ग्रामथान गाउँपाकिला ७ मा एकीकृत नमूना बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले भूमिहीन किसानलाई भूमि दिन भूमि आयोग पनि बनेको जानकारी गराए ।

Anuganam gardai manti

सुकुम्बासीलाई हस्तान्तरण गरिएको एकीकृत नमूना बस्तीको निरीक्षण गर्दै मुख्यमन्त्री शेरधन राइसहित सहभागिहरू ।

‘भूमि आयोगले काम थालिसकेको छ,’मुख्यमन्त्री राईले भने, ‘कम्युनिष्ट सरकारको कार्यकाल भित्रमा सुकुम्बासी, र भूमिहिन किसानलाई भूमि उपलब्ध गराउनेछ । यसको तयारी सरकारले गरेको छ ।’ निर्वाचनमा गरेको बाचा र प्रतिवद्धता पुरा गराउन तीन तहको सरकार इमान्दर भएर काममा लागि परेको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जनताको जीवन स्तर अगाडी बढाउन प्रदेश सरकार लागि परेको बताए । उनले शिक्षा, स्वास्थ्यको पहुचमा नेपाली जनतालाई पुर्याएर स्वरोजगार बनाउन प्रदेश सरकार कटिबद्ध भएर लागि परेको बताए । कार्यक्रममा बोल्दै संघिय संसद अमनलाल मोदीले तीन तहको सरकारले नमूना बस्ती निर्माण गरिदिएकोले राम्रो रेखदेख गरेर बस्नुपर्ने बताए ।

‘अहिले ३४ वटा घर निर्माण भएपछि एकीकृत नमूना बस्ती बनेको छ,’ उनले भने, ‘नाम जस्तै नमूना बनाएर घरको रेखदेख गरिन आफै लाग्नूपर्दछ ।’ कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, वन, पर्यटन तथा वातवरण राज्यमन्त्री विजय विश्वासले सुकुम्बासी, आदीवासी र पिछडा सामुदायको जीवन स्तर उकास्न प्रदेश सरकारले सीपमुलक स्वरोजगार कार्यक्रम ल्याएको बताए । यसको माध्यमबाट उत्पादन स्वरोजगारमा अगाडी बढाउने उनीहरूले बताए ।

खानेपानी र विजुली चाँडो ल्यादिन माग
नयाँ पक्की घर पाएका ग्रामथान गाउँपालिका ७ नमुना बस्तीका सुकुमबासीहरूले खानेपानी, बिजुली बत्ती चाँडो ल्यादिन तीन तहको सरकारसँग आग्रह गरेका छन् ।

नयाँ घर निर्माण भइसकेकोले चाँडै बिजुली वत्ती र खानेपानी पनि संचालनमा ल्याइदिन उनीहरूले माग गरेका हुन् । स्थानिय प्रमिला चौधरीले सरकारले घर निर्माण गरि हस्तान्तरण गरिदिइ सकेकोले खानेपानी र बिजुली बत्ती पनि चाँडो बनाइदिन सरकारसँग आग्रह गरेकी छिन् ।

‘नयाँ घर त हामीले पाइम,’ उनले भनिन्, ‘बिजुली बत्ती र खानेपानी अहिलेसम्म आइपुगेको छैन् । अहिले सोलरले उज्यालो काम चलाएका छौं ।’ उनले बिजुली आए अन्य कुनै आयआर्जनको काम गरेर स्वरोज बन्न सकिने बताइन् ।

ग्रामथान गाउँपाकिाले यहाँका ३६ घर सुकुम्बासीहरूको लागि खानेपानीको ट्युवल जडानको लागि ३ लाख रुपैयाँ बजेट बिनायोजन गरिएको गाउँपालिकाको अध्यक्ष शिवनारयण माझीले जानकारी दिए । ‘बजेट बिनायोजन भइसकेको छ,’ उनले भने, ‘तिहार लगतै खानेपानी र विजुली नमूना बस्तीमा आउनेछ ।’