विराटनगर । उपभोक्ताले खरिद गरेर लगेको कोशी ग्यासको शिलप्याक गरिएको सिलिण्डरमा करिब साढे तीन केजी कम तौल भेटिएको छ ।
विराटनगर महानगरपालिका – २ तीनपैनीचौकका उपभोक्ता रतनकुमार बर्माले खरिद गरेको कोशी ग्याँसको सिलिन्डरमा तीन केजी ३ सय ग्राम कम तौल ग्याँस भएको फेला परेको हो ।
बर्माले बिहीबार खरीद गरेका दुईवटा सिलिण्डरहरु मध्ये एउटामा कम तौल फेला परेको छ । भरेको सिलिण्डरको तौल २९ किलो ६ सय ग्राम हुनुपर्नेमा २६ किलो ३ सय ग्राम मात्र भएको पाइएको छ ।
प्रत्येक सिलिण्डरमा ग्याँस उद्योगहरुले १४ किलो २ सय ग्राम ग्याँस भरेर पठाउने गरेकोमा बर्माले खरीद गरेका सिलिण्डरको तौल घटाएपछि ३ किलो ३ सय ग्राम कम तौल भेटिएको हो । कम ग्याँस फेला परेको खाली सिलिण्डरको तौल १५ किलो ४ सय ग्राम रहेको कम्पनीद्वारा प्रिन्ट गरिएको सूचनामा उल्लेख छ ।
ग्याँस डूलाई हिड्ने टेम्पु चालकसंग आफुले २ वटा सिलिण्डर खरीद गर्दा एउटामा कम तौल भेटिएको वर्माले जानकारी दिए । शंका लागेपछि खरीद गरिएको सिलिण्डर डिजीटल काँटामा तौल गर्दा कम तौल फेला परेको उनले बताए । ‘दुई वटा शील प्याक गरिएको कोशी ग्याँसको सिलिण्डर खरिद गरेको थिए,’ उनले भने, ‘एउटा ग्याँसको सिलिन्डरमा तीन केजी ३ सय ग्राम कम तौल छ । अर्कोमा २९ किलो ६ सय ग्राम ग्याँस छ ।’
खरिद गरिएको सिलिण्डर तौल कम फेला परेपछि बिक्री गर्ने टेम्पु चालक दक्षिणतर्फ भागेको र पछि आफुले पछ्याएर फेला पारेको उनले बताए । वर्मालाई डिलरहरूबाट ग्याँस खरिद गरेर डुलाउँदै हिडने टेम्पु चालक राजकपुर मण्डलबाट ग्याँस खरिद गरेका थिए । मण्डलले विराटनगरका २ तीन ठाँउबाट सिलिण्डर खरीद गरेर बिक्री गर्दै आएको बताएका छन् । डुलाउँदै ग्याँस बिक्री गर्ने मण्डलले खरिद गरेको डिलरको नाम भने खुलाएको छैनन् ।
डिलर संचालक, कोशी ग्याँस कम्पनीको मिलेमतोमा कम तौल भरेर उपभोक्ता ठगी गरेको हुनसक्ने आशंका गरिएको छ । उपभोक्ताले सिलप्याक ग्याँस खरीद गर्दा तौल गर्न सम्भव नहुने भएकाले अन्य कतिपय ब्यक्ति समेत ठगिएको हुनसक्ने विराटनगरका ११ का पूर्ण बहादुर खड्काले बताए ।
व्यापारी कमाउ धन्दामा लाग्दा यस्तो भएको हुनसक्ने उनले बताए । यस विषयमा सरोकारवाला निकाय र प्रशासनले तत्काल अनुसन्धान गरि उपभोक्तालाई ठगी गर्नेलाई निकायलाई कारवाहीको दायरमा ल्याउनुपर्ने बताए ।
यता कोशी ग्याँस उद्योगका म्यानेजर सचित उपाध्यायले सिलिण्डर चेकजाँच गरेपछि मात्र केहि भन्न सक्ने प्रतिक्रिया दिए । उद्योगबाट त्यसप्रकारको गल्ती हुन नसक्ने उनको दाबी छ । ‘उद्योगले बजारमा पठाउने ग्याँसहरू तौलिएर पठाउने गरिएको छ,’ उनले भने, ‘त्यस्तो कमी हुन सक्दैन । यस विषयमा बुझेर मात्र भन्न सकिन्छ के भएको हो ? ।’
ग्याँस कम्पनीहरुले बजारमा पठाउने गरेको सिलिण्डरहरुको बिषयमा बारम्बार प्रश्नहरु उठ्ने गरेको छ । कतिपय कम्पनीहरुले म्याद सकिएका थोत्रा सिलिण्डरहरु समेत बजारमा पठाउने गरेका कारण सिलिण्डर पड्किने र लिक भएर ठूलो जनधनको क्षति हुने गरेको छ ।