यासोक/ प्रदेश सरकारले विगतमा गरेको कामको भुक्तानी नदिएको भन्दै निर्माण कम्पनीले पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारको कालोपत्रेको काम अघि नबढाउँदा स्थानीय धुलोले आक्रान्त बनेका छन् ।
सहरी विकास तथा भवन कार्यालय इलामले कालोपत्रे गर्ने ठेक्का खोलेपछि २०७७ साल असारमा ‘सियम–कृष्ण–लक्ष्मी जेभी’ काठमाडौंले ठेक्का प्राप्त गरेको थियो । यो ठेक्का प्रदेश सरकारको सहयोगमा लागेको हो । बर्खामा हिलो र हिउँदमा धुलोबाट ग्रसित हुँदै आएका बजारबासी काम सुरु नहुँदा निराश बनेका छन् । मूल्य अभिवृद्धिकर (भ्याट) सहितको १० करोड ५२ लाख ४६ हजार ३ सय ५५ रुपैयाँमा निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
तर, सम्झौता भएको ४ महिना बितिसक्दा पनि काम सुरु नहुँदा धुलो आतङ्क भएको स्थानीय जकेन्द्र लावतीले बताए । बजारमा दैनिक गुड्ने सवारी साधनले धुलो उडाउँदा व्यापार–व्यवसाय सञ्चालन गर्न समस्या देखिएको छ । ‘बजारमा कालोपत्रे हुन्छ भनेको लामो समय भयो’ लावतीले भने, ‘अहिलेसम्म ठेकेदार कम्पनीले काम नगर्दा अन्योलमा परेका छौं ।’
बर्सेनि धुलो र हिलोको समस्या झेल्दै आएका कुम्मायकबासीका लागि यो वर्ष केही सहज भएको छ । तमोर लिफ्ट खानेपानी आयोजनाको पानी बजारमा पुगेपछि धुलोमा पानी छ्याप्न केही सहज भएको उद्योग वाणिज्य सङ्घ शाखा अध्यक्ष मेघराज निरौला बताउँछन् । उनी भन्छन्, ‘समयमै कालोपत्रेको काम अघि नबढ्दा धुलो मार्न पानी छ्याप्नु परेको छ ।
तर, पानी पर्याप्त नहुँदा समस्या बल्झिँदै गएको छ ।’ गाउँपालिकाले कालोपत्रेको काम चाँडै सुरु गर्न प्रदेश सरकार र निर्माण कम्पनीसँग छलफल भइरहेको जनाएको छ । चाडपर्वपछि योजनाको काम अघि बढ्ने जानकारी पाएको भन्दै गाउँपालिकाले ठेकेदार र सम्बन्धित निकायलाई घच्घच्याउने काम भइरहेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।
ठेकेदार भन्छः धुलो उडे उडोस्
यता निर्माण कम्पनीले यासोक बजारको काम तत्काल नगर्ने गैरजिम्मेवार जवाफ दिएको छ । ब्लाष्टसँग कुरा गर्दै ठेकेदार कम्पनीको जिम्मेवारी पाएकी सीता बस्नेतले धुलो उडे पनि आफूहरूलाई वास्ता नभएको बताइन् । ‘मलाई यसअघि मिक्लाजुङ गाउँपालिकामा काम गरेको २७ लाख रकम प्रदेश सरकारले दिएको छैन । पैसा नदिए तत्काल काम गर्दिनँ, धुलो भए पानी छ्याप्दै बसे हुन्छ’ –बस्नेतले भनिन् । प्रदेश सरकारले यसअघि काम गरेको रकम नदिएको भन्दै त्यो आक्रोस कुम्मायकवासीलाई पोखिन् ।
योजनाको काम भए–नभएको विषयमा सहरी विकास तथा भवन कार्यालय पनि बेखबर झैं छ । ठेक्का लिएको निर्माण कम्पनीले काम गरेको छ–छैन भन्ने विषयमा अनुगमन र निरीक्षण समेत गरेको पाइँदैन । कार्यायल प्रमुख रुद्रनारायण मिश्रले काममा केही ढिलाइ भएको स्वीकार गरे । निर्माण व्यवसायी र प्रदेश सरकारसँग आवश्यक छलफल गरेर काम चाँडै अघि बढाउने मिश्रले बताए ।