विराटनगर/ विराटनगर – १८ मा निर्माणधिन अवस्थामा छ, रेलको लिक । नजिकै छ भन्डै पाँच विघा क्षेत्रफलमा फैलिएको माछा पोखरी । विराटनगर १७ का एहसान सेकले विगत दुई वर्षदेखि यो व्यवसाय सुरू गरेका हुन् ।
कतारमा एक वर्षभन्दा बढी इन्जिनियरको काम गर्दै आएका उनले त्यहाँ आकर्षक तलब छोडेर स्वदेशमा केही गर्ने उद्देश्यले रोजगारीबाट फर्किए । बावुले अंगाल्दै आएको पेशालाई उनले बिगत दुई वर्षदेखि समाल्दै आएका छन् । स्वदेशमै केही गर्ने भन्दै उनले पाँच बिघा क्षेत्रफलमा ९ वटा पोखरी बनाएका छन् । पोखरीमा विभिन्न प्रजातिका माछा लगाएका छन् । उनले भने, ‘विदेसबाट फर्किएका हों, यता आएपछि कृषिमा केही काम गर्नुपर्छ भनेर सल्लाह भयो । विदेशिनुमात्र सबै कुरा हैन । यहाँ आफ्नै ठाँउमा पनि केही गर्न सकिन्छ भनेर यो काम गर्न प्रेरित भएको हो ।’
उनले ‘न्यू नेपाल कृषि केन्द्र’ २०७३ सालमा दर्ता गरि अहिले व्यवसायिक माछा पालन र माछाको भूरा पनि उत्पादन गर्दै आएका छन् । शेखले अहिले मागूर, पंङगास, कमनकारलगायतका विभिन्न प्रजातिका माछा उत्पादन गर्दै आएका छन् । ‘माछाको भूरा मात्र वार्षिक २ लाख उत्पादन हुने गरेको छ,’ उनले सुनाए, ‘वार्षिक माछा मात्र ५० लाख भन्दा बढीको कारोबार हुन्छ ।’ उनले खाने माछाका साथै भूरा उत्पादन गर्ने ह्याचरी पनि स्थापना गरेका छन् ।
माछाको भूरा उत्पादन गर्ने पोखरी र व्यवसायिक रूपमा विक्री गर्ने माछाको पोखरी छुटा–छुट्टै छ । उनले माछाको भूरा प्रसोधन गर्नको लागि कङ्किटको छुट्टै पोखरी पनि स्थापना गरेका छन् । ‘८ दिन प्रोसधन गरेपछि माछाको भूरा विक्रीको लागि तयार हुन्छ,’ उनले भने, ‘एक लटमा ८० हजार भूरा उत्पादन हुने गरेको छ । ३० देखि ४० दिन भएपछि १ ग्रामको भूरा माछा तयार हुन्छ । त्यसपछि विक्री गर्दै आएका छौं ।’ उनले उत्पादन गरेको भूरा माछा मेचीको झापादेखि पश्चिम बिरगन्जसम्मका कृषिफर्मले खरिद गरेर लाने गरेका छन् । उनले साइज अनुसार माछाको भूरा विक्री गर्दछन् । ५ रुपैयाँ प्रतिगोटादेखि ७ रूपैयाँसम्ममा विक्री हुने गरेको छ ।
विदेशको बसाईमा केही गर्नुपर्छ भन्ने थाहा पाइएको उनले बताए । उनले भने, ‘आफ्नो ठाँउमा पनि केही सम्भावना छ । यहाँ पनि केही गर्दाखेरी हुन्छ भनेर सुरु गरियो ।’ विदेशमा कमाएको पैसा यसमा लगानी भएको छ । अहिलेसम्म ८० लाख भन्दा माथि लगानी भएको उनले सुनाए । बजारका लागि खासै समस्या छैन । स्वदेशको उत्पादनले नेपाली बजारमा नधानेपछि उनले ‘एसजीआइ एग्रो प्रालि’ मार्फत विदेशबाट पनि माछा आयत गर्दै आएका छन् । उनले स्वदेशको उत्पादन नधानेर वार्षिक २५ करोड भन्दा बढीको माछा आयत हुने गर्ने गरेको जानकारी गराए ।
पछिल्लो समय आर्थिक अवस्था सुर्धान बैदेशिक रोजगारीमा जाने लहर चलेको छ । उनी भने नेपालमा पनि संभावनाको क्षेत्र पहिचान गरेर काम गर्ने हो भने यहाँ पनि राम्रो आम्दानी गर्न सक्ने बताउँछन् । ‘नेपालको अहिलेको सन्र्दभ कस्तो छ भने कुनै पनि क्षमतावान मान्छे यहाँ बस्न रुचाउँदैनन् । यहाँ सम्भावना छैन भन्ने कुरा मात्र हुन्छ । म १ लाख ८० हजारको मासिक तलब छोडेर बिदेशबाट फर्किएको हो,’ उनले पोखरीमा गफिदै ब्लाष्टसँग भने, ‘सानो केही संभावना खोजेर कृषि कर्ममा हात हालेको छु, दुई चार जनालाई रोजगारी पनि पाएका छन् ।
आफु जस्तै युवाहरुलाई के भन्छु भने हामी पनि आफूले सक्ने सम्भावनाहरु खोजौँ । काम गर्न चाहने हो भने नेपालमा नै धेरै सम्भावनाहरु छ । नेपाल कृषि प्रधानप्रधान देश, कृषि मै केही उद्यम गर्न स्थानीय र केन्द्र सरकारले यूवा स्वरोजगारका कार्यक्रमहरु ल्याएर यूवाहरुलाई पनि काम लगाए भने यूवाहरु बिदेश जानु पर्ने थिएन कि ।’
पूर्वाधारमा समस्या
शेखले संचालन गरेको कृषि फर्मसम्म अहिलेसम्म पूर्वाधारहरू पुग्न सकेको छैन । महानगरपालिका भएको विराटनगर १८ नयाँ बस्तीमा अहिलेसम्म सवारी साधन पुग्ने सडक र बिजुली पुग्न नसकेको एहसान शेकले बताए । ‘व्यवस्थित सडक र बिजुली आइनपुग्दा व्यवसायमा समस्या आएका छ,’ उनले भने, ‘सडक, बिजुली वत्ती फर्मसम्म आइपुगे व्यवसाय थप विस्तारमा सहज हुने थियो ।’ यसबारेमा स्थानीय सरकारलाई पनि पटक पटक भनिरहेको उनले बताए ।