धरान । कोरोना महामारीको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा थप जटिल मोडमा पुगिरहेको निष्कर्षसहित धरानका नागरिकस्तरबाट ‘बीपी प्रतिष्ठान सुधार दबाव समूह’ गठन गरिएको छ ।

समूहको अध्यक्षमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाको संयोजकत्वमा १ सय १ सदस्यीय समिति गठन गरिएको छ । समितिमा राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्थाका व्यक्ति तथा स्वतन्त्र नागरिकहरू छन् । कोरोना भाइरसको संक्रमणपछि बीपी प्रतिष्ठानको सेवालाई लिएर चौतर्फी आलोचना हुँदै आएको छ । कोभिड महामारीकै बीचमा उपकुलपति पनि नियुक्त गरिएको थियो । उपकुलपति डा. ज्ञानेन्द्र गिरी नियुक्त भएर आएपछि पनि स्वास्थ्य सेवामा खासै सुधार आउन नसकेको टिकाटिप्पणी हुन थालेको छ ।

प्रदेश १ सरकारले प्रदेश १ स्तरीय तेस्रो तहको कोभिड १९ अस्पताल निर्माण गर्नका लागि तत्कालीन पुनर्स्थापना गृहलाई कोभिड अस्पतालमा परिणत गरिएको थियो । जहाँ आइसियुसहितको भेन्टिलेटर सेवा प्रवाह गरिएको भए पनि छोटो अवधिमै कोभिड अस्पतालका ६ वटा भेन्टिलेटर कामै नलाग्ने अवस्थामा पुगेको थियो । कमिसनको प्रलोभनमा विशेष अदालतमा मुद्दा खेपिरहेका कम्पनीलाई भेन्टिलेटर खरिदका लागि दिएको भन्दै थप आलोचना भएको थियो ।

अहिले पनि प्रतिष्ठान सुधार हुन सकेको छैन । प्रतिष्ठानमा दैनिक कोरोना संक्रमितको मृत्यु हुन थालेपछि धराने सचेत नागरिकको भेलाले दबाव समूह गठन गरेको हो । प्रदेश १ मा कोरोनाबाट मृत्यु हुने सबैभन्दा बढी धरानमा रहेको अग्रज पत्रकार केशव घिमिरेले बताए । ‘के कति कारणले यस्तो भइरहेको छ, यसको नागरिक स्तरबाटै बुझ्न आवश्यक भइसकेको छ’ उनले भने ।

भेलामा सहभागीहरूले बीपी प्रतिष्ठानमा स्वास्थ्य बेथिति धेरै बढेको निष्कर्ष निकालेका थिए । ‘धरानको बिरामी अन्यत्र जानुपर्ने अवस्था सिर्जना भइरहेको छ, अन्य मेडिकल कलेज जानुपर्ने अवस्था सिर्जना हुनुले के संकेत गर्छ ?’–व्यवसायी नवीन राजभण्डारीले भने । बीपी प्रतिष्ठानको बेथितिविरुद्ध समयसमयमा धरानबासी आन्दोलित बन्दै आएका छन् । तर, विभिन्न दलगतलगायतका आन्दोलनका कारण हालसम्म धरानबासीले चाहेजस्तो सुधार हुन सकेको छैन ।

‘ब्लाष्ट दैनिक सुरु हुनुको पछाडि पनि बीपी प्रतिष्ठान धरानमा ल्याउने थियो, अहिले सुधारको लागि आन्दोलनमा सहकार्य गर्न सधै तयार छ,’ ब्लाष्टका सम्पादक किशोरकुमार कार्कीले भने, ‘प्रतिष्ठान सुधार गर्नका लागि हामी हातेमालो गर्न तयार छौं ।’ प्रतिष्ठानमा पछिल्लो समय उपकुलपति बनेर आएका डा. कार्कीले प्रतिष्ठानलाई सुधार गर्नुको सट्टा कमिसन तथा आर्थिक चलखेलमा बढी सक्रिय हुने गरेको अड्कलबाजी गरिँदै आएको छ । प्रतिष्ठानलाई सुधार गर्नका लागि राजनीतिभन्दा माथि उठेर आन्दोलन गर्न आवश्यक रहेको जनता समाजवादी पार्टीका नेता ताजुब लिम्बूले बताए ।

bp_nagarik1

‘यहाँ प्रदेश स्तरका नेता, प्रतिनिधिसभाका सदस्यहरूले पनि सुधारका लागि पहल गरेका छन्, तर सुनुवाइ भएको पाइँदैन, यो कमिटीले राजनीतिभन्दा माथि उठेर आन्दोलन गर्नुपर्छ’–उनले भने । अधिकांश वक्ताले प्रतिष्ठानको चरम बेथितिलाई अन्त्य गर्न धरान एकजुट भएर लाग्नुपर्ने बताए । कतिपयले प्रतिष्ठानलाई मात्रै दोष दिएर नहुने त्यसका लागि धरान उपमहानगर अर्थात् स्थानीय सरकारको पनि पहलकदमी आवश्यक रहेको औल्याए ।

‘प्रतिष्ठानमा स्वास्थ्य बेथिति त छँदैछ, स्थानीय सरकारले पनि कुनै पहल कदमी गरेको देखिँदैन, एकअर्कालाई देखाएर पन्छिने मेलो भइरहेको छ’ महिला सञ्जालकी निवर्तमान अध्यक्ष सविता राईले भनिन्, ‘मेयर, उपमेयर दुवै जना सिनेटर हुनुहुन्छ, नगर हाँक्ने हुनुहुन्छ तर पनि केही गरेको पाइँदैन ।’ कार्यक्रममा नेकपाका नगर इन्चार्ज चोत्लुङ, नागरिक अभियन्ता डा. राजेन्द्र शर्मा, नेपाली कांग्रेसका जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र गोलेलगायतको उपस्थिति रहेको थियो ।