पथरी / कोरोना भाइरस संक्रमण भएका विरामीको लागि मोरङको कानेपोखरी गाउँपालिकामा ५ वेडको कोभिड अस्पताल स्थापना भएको छ ।
सोमबार सो कोभिड अस्पताललाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेका थिए ।

वडा नं. ४ मा रहेको बयरवन स्वास्थ्य चौकीको खाली भवनमा कोभिड अस्पताल संचालन भएको छ । कोभिड अस्पतालमा ५ वटा वेडको पनि तयारी पुरा गरेको छ ।

अस्पताल उद्घाटन गर्दै अध्यक्ष काफ्ले बयरवन स्वास्थ्य चौकी गाउँपालिकाको सवैलाई पायक पर्ने ठाउँमा भएकोले स्वास्थ्य चौकी स्तरउन्नती गर्न सुरुमै १ कट्टा जग्गा खरिद गरेको र यस स्वास्थ्य चौकीबाट तीन जना विशेषज्ञ डाक्टरहरुबाट हप्ताको एकचोटी अघिल्लो बर्ष देखि नै विरामीको सेवा दिएको बताए ।

जुन स्थानमा कोभिड अस्पताल र अस्पताल संचालन गर्न लागेका छौं त्यहाँ कार्यरत कर्मचारी, त्यहाँको स्थानीय र त्यस वडाको जनप्रतिनिधिमा अस्पताल कस्तो बनाउने भन्ने बारेमा भरपर्ने बताए ।

कार्यक्रममा स्थानीय समाजसेवी इन्द्र सुब्बा, मनोज राजवंशी, दिलिप शेर्पा, राजकुमार राजवंशी, क्वारेन्टाइनका संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत लगाएतले मन्तव्य राखेका थिए । वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई सभापतीत्वमा भएको कार्यक्रममा स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले संचालन गरेका थिए ।

कोभिड अस्पतालको लागि गाउँपालिकाले मेडिकल अधिकृतमा सप्तरीका राम शंखर यादव, स्टार्फ नर्समा कानेपोखरीका आकांक्षा दवाडी र ल्याव टेक्निसियनमा पथरीशनिश्चरेका महेश शाह करारमा विज्ञापन खोली नियुक्त गरेको छ ।

नेपाल सरकारले अस्पताल नभएका स्थानिय तहमा न्युनतम ५ वेडको कोभिड –१९ अस्पताल संचलन गर्ने निर्देशन भए अनुसार ५ वेडको कोभिड अस्पताल संचालन आएको हो । कोभिड अस्पताल संचालनको लागि नेपाल सरकारले स्थानीय तहलाई १ करोड रकम पठाई सकेको छ ।