धरान । भारतीय सञ्चारमाध्यमविरुद्ध बलिउडका हस्ती अभिनेताहरूसहित ठूला निर्माता कम्पनीहरूले ‘गैरजिम्मेवारपूर्ण रिपोर्टिङ’ गरेको भन्दै अदालतमा उजुरी हालेका छन् ।

उजुरी हाल्नेमा बलिउडका हस्ती साहरुख खान, आमिर खान र सलमान खानलगायत ठूला निर्माता कम्पनीहरू सञ्चारमाध्यमविरुद्ध अदालत पुगेका हुन् । उनीहरूले गैरजिम्मेवारपूर्ण रिपोर्टिङमा अभिनेता सुशान्तसिंह राजपुतको मृत्युलाई लिएर सुरु गरेका हुन् ।

राजपुतको मृत्युलाई आत्महत्या नै बताइएको छ । तर, यो घटनालाई लिएर भारतीय मिडियाहरूले महिनौंदिनसम्म गैरजिम्मेवारी तरिकाले समाचारलाई सनसनीखेजका रूपमा प्रस्तुत गरिरहे ।

भारतीय मिडियाको रिपोर्टिङको शैलीलाई लिएर उनीहरू कारबाहीको माग गर्दै अदालतमा पुगेका हुन् । बलिउड उद्योगलाई हिलो छ्याप्ने काम गरेको निर्माता कम्पनीको बुझाइ छ । जसले गर्दा दैनिक जीवनलाई केही असहज बनेको बताइन्छ ।

खानसहित निर्माता कम्पनीले दुई वटा च्यानल र तिनीसँग सम्बन्धित समाचार प्रस्तोताविरुद्ध ३४ वटा निर्माता कम्पनी र फिल्म उद्योगले दिल्लीमा मुद्दा हालेका हुन् । प्रतिवादीहरूको हालसम्म कुनै प्रतिक्रिया आउन सकेको छैन ।

रिपब्लिक टिभी र त्यसका प्रस्तोता अर्णव गोस्वामी, प्रदीप भण्डारी साथै टाइम्स नाउ टिभीका र प्रस्तोता राहुल शिवशंकर र नविका कुमारविरुद्ध मुद्दा हालिएको हो । बलिउडलाई नै अपराधीको संज्ञा दिएको र सबै दुव्र्यसनमा फसेजस्तो गरी प्रचार गरेकामा उनीहरूको आपत्ति छ ।

पछिल्लो समय केही नायिकालाई दुव्र्यसनका विरुद्ध पक्राउ गरी सोधपुछ गरिएको थियो । जसमा नायिका दीपिका पादुकोणदेखि रिया चक्रवर्तीसम्म रहेका थिए । स्मरणरहोस् रिया सुशान्तका प्रेमिका समेत रहेकी थिइन् । ३४ वर्षीय राजपुत मुम्बईस्थित आफ्नै फ्ल्याटमा जुन १४ तारिखका दिन मृत अवस्थामा भेटिएका थिए । प्रेमिका रियाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरिएको थियो भने हालै उनलाई अदालतले धरौटीमा छाडेको छ ।

उनलाई १०–१० दिनमा घर नजिकैको प्रहरी कार्यालयमा हाजिर हुनका लागि पनि आदेश दिएको छ । रियाले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आइरहेकी छन् । उनीविरुद्ध सुशान्तका परिवारले बिहारमा नै उजुरी दिएका थिए । अहिले पनि यो मुद्दामा अनुसन्धान चलिरहेको छ ।