Artist-Tirtha-Niraula

धरान/ क्लासिक ग्यालरी ललितपुरको आयोजनामा धरानका कलाकार तीर्थ निरौलाको भर्चुअल कला प्रदर्शनी भएको छ ।

नेपालको सन्दर्भमा अनलाइन कला प्रदर्शनी नौलो हो । प्रदर्शनीलाई ग्यालरीको आधिकारिक युट्युव च्यानल, इन्स्टाग्राम, फेसबुक तथा अन्य साइटमा देख्न सकिनेछ । प्रदर्शनीमा तीर्थ निरौलाको २२ चित्रकृतिहरू राखिएका छन् । कलाकृतिहरू एक्रेलिक, कलम र मसी, मिश्रण विधिलगायतका माध्यमहरूबाट बनाइएका छन् भने विषयवस्तुमा विविध विषयहरूलाई समेटिएको छ । प्रायः गणेश, नारी, प्रकृति, शान्ति र जीवनजगत्हरू चित्रमा देख्न सकिन्छ ।

अहिलेको जटिल परिस्थितिमा चित्रहरू ग्यालरीमा प्रदर्शन गर्न नमिल्ने भएकोले प्रदर्शनीको यो अनलाइन माध्यमलाई अवलम्बन गरेको कुरा निरौला बताउ“छन् । कलाकार निरौला धरानबाट कलाकर्म सुरु गरेर राष्ट्रियरूपमा आफ्नो नाम बनाउन सफल रहेका कलाकार हुन् । उनी तीन दशकदेखि नै यस विधामा सम्बद्ध छन् । यसैबीच उनले कलाका धेरै कर्महरू गरि सकेका छन् र धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पनि पाइसकेका छन् ।

अरनिको राष्ट्रिय युवा कला पुरस्कार, राष्ट्रिय लेखन पुरस्कार, राष्ट्रिय कला पुरस्कार, क्षेत्रीय उत्कृष्ट कला पुरस्कार, कला एजुकेटर अवार्ड अमेरिका, धरान सम्मान, धरान साहित्य महोत्सव सम्मान लगायत थुपै पुरस्कार र सम्मानहरू उनले प्राप्त गरेका छन् ।

आफ्ना कलाका विषयमा कलाकार निरौलाले अनलाइन प्रदर्शनीमा लेखेका छन्, ‘म मेरो कलालाई भावपरक वैचारिकता र सुन्दरताको धरातलबाट बुझ्छु, हेर्छु र बनाउँछु । विगतका दिनहरूमा कलाका व्याकरणीय अध्ययन र अभ्यासबाट सुरु भएको मेरो कलायात्राले थुप्रै यथार्थवादी तथा वस्तुवादी आरोह, अवरोहहरू पार गर्दै अहिलेको यो अवस्थासम्म आइपुगेको हो, जुन आजका मेरा कला र कलाशैली निजी, मौलिक र स्थापित परिणति हुन् ।

आज मेरा कलाहरू अर्धअमूर्त शैलीमा सिर्जित रहेका हुन्छन् । कलामा हल्का रङ र रेखाको पटाक्षेप हुन्छ । क्यान्भासमा रङ र रेखा संयमित भएर बसेको हुन्छ । टेक्सचर इफेक्ट मेरो कलाको मूल आत्मा हो भने चित्रको विषयवस्तु शरीर हो ।’

यस्तै नेपालका वरिष्ठ साहित्यकार एवम् समालोचक गोविन्द भट्टराईले तीर्थको कलाका विषयमा अनलाइनमा लेखेका छन्, ‘कलाकार तीर्थ निरौला आधुनिक कलाकार हुन् । उनको चित्रमा रङको प्रभाव हुन्छ । रङरेखा र विषयमा भाव हुन्छ । साह्रै मर्मस्पर्शी छन् उनका कला...।’

धरानमा जन्मेका निरौला नेपाली कलामा परिचित नाम हो । कलाकर्मको सँगसँगै नेपाली कला र समीक्षामा पनि ख्याती आर्जन गरिसकेका निरौलाको यो एकल प्रदर्शनी एघारौं हो । स्वदेश तथा विदेशमा गरी दशौं र दर्जनौं सामूहिक प्रदर्शनी भइसकेको छ ।

आयोजक क्लासिक ग्यालरीकी क्युरेटर सरिता डङ्गोल अनलाइन प्रदर्शनीको विषयमा भन्छिन्, ‘हामीले अनलाइन कला प्रदर्शनी गर्नुको उद्देश्य विश्वभरिका कला र कलाकारहरूलाई जोड्नु हो र कलाहरूलाई विश्वका दर्शक सम्मुखसम्म पु¥याउनु हो ।’

2 1 3 4