बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नं. १ कटहरेस्थित आफ्नै घरमा हिजो राती मृत भेटिएकी १२ वर्षीया बालिका मिना राईको हत्या आशंकामा अनुसन्धानका लागि प्रहरीले आधा दर्जनभन्दा बढी स्थानीय किशोर किशाेरीलाई नियन्त्रणमा लिएको छ । 

आफ्नै घरको कोठामा मृत भेटिएकी बालिका राईको टाउकोमा चोट र घाँटीमा रुमाल र टिसर्ट बेरिएको अवश्थामा पाइएपछि प्रहरीले अनुसन्धानका लागि संघीय प्रहरी इकाईबाट तालिम प्राप्त कुकुरसहित टोलि बोलाएको थियो ।

घटनास्थलमा लगिएको तालिम प्राप्त कुकुर हत्या भएको घरबाट सुँघ्दै १ सय ५० मिटर परको एउटा घरमा पसेको थियो । सो घरका किशोरलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका अन्य साथीहरु पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघटीका इन्स्पेक्टर पान्डब राजवंशीले बताए । नियन्त्रणमा लिइएकाहरूमा १४ देखी १९ वर्षसम्मका किशाेर किशाेरी र एकजना २३ वर्षका युवा छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चक्रघटी, चतरा प्रहरी चौकीका प्रहरी र स्थानीय जनप्रतिनिधिहरु पुगेका थिए ।

हिजो शुक्रबार राती छिमेकीमा धामी बसेको हेर्न बालिका मिना उनका आमा बुवासहित गएकी थिईन् तर उनी आमाबुवाभन्दा अघि नै राती १० बजे घर फर्किएकी थिईन् । धामी हेरेर बिहानकाे २ बजे बाबुआमा फर्किंदा बालिका घरमै मृत अवश्थामा फेला परेकाे उनका बुवा दशरथ राइले प्रहरीलाइ जानकारी दिएका छन्। घटनास्थल वरपर वियरका बोतलहरु थिए । त्यसमध्ये एउटा बोतल फुटेको अवश्थामा भेटिएको र शवको अवश्था हेर्दा हत्या भएको प्रष्ट देखिने घटनस्थल पुगेका वडा नं. १ का वडासदस्य लोकबहादुर दाहालले बताए ।