ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका ८० वर्षिय वृद्धमा कोरोना संक्रमण देखिएको छ । दमको समस्या देखिएपछि जिल्ला अस्पताल ताप्लेजुङ हुँदै झापाको कन्काई र विराटनगरको नाबेल अस्पतालमा उपचारका क्रममा पुगेका वृद्धमा कोरोना पुष्टि भएको प्रहरीले जनाएको छ ।

ति वृद्धमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उपचारका लागि नोबेलमा पुगेका वृद्धको सोहि अस्पतालले स्वाब लिएको थियो । स्वाब संकलन गरेर सामान्य उपचार पश्चात असोज ४ गते डिस्चार्ज भएका बृद्ध सोहि दिन नै ताप्लेजुङ फर्किएका थिए ।

जिल्ला अस्पताल ताप्लेजुङमा १०/११ दिन सम्म उपचारमा रहेका बृद्धलाई थप उपचारका लागि असोज ३ गते झापाको कन्काईमा लगिएको थियो । कन्काईमा भएको जाँचमा मुटुको समस्या देखिए पछि नोबेलमा पुर्याईएको थियो ।

एम्बुलेन्स मार्फत सदरमुकाम फुङलिङ आएका ति बृद्ध आफ्नी बहिनीकोमा बसेको र भोलीपल्ट असोज ६ गते भाडाको गाडीमा छिरुवा फर्किएको बताईएको छ । सो गाडीमा १३ जना यात्रु चढेको बताईएको छ । १३ मध्ये ४ जना लिङ्खिममा ओर्लिएको स्रोतले बतायो । ६ जनाको परिवार संगै बसोबास गर्ने बृद्धको फक्ताङलुङ गाउँपालिका– ५ छिरुवामा गेष्ट हाउस समेत रहेको बताईएको छ ।

कोरोना पुष्टि भएको खबरसंगै कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताए । ति वृद्धलाई लिनको लागि सदरमुकामबाट गाडी पठाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।

यता फुङलिङ स्थित प्राईम बैंकका एक कर्मचारीले समेत आफुलाई कोरोनाको शंका लागि स्वाब संकलन गराएकाले रिपोर्ट नआउन्जेल सम्म उक्त बैंक सिल गरिने डिएसपी श्रेष्ठले जानकारी दिए । उहाँले सबैमा सचेत रहन आग्रह गरे ।