धरान । तेह्रथुमको छथर गाउँपालिका–१ आङ्दिमका ६० वर्षीय पूर्णबहादुर लिम्बु घर नजिकैको खोलामा मृत अवश्थामा फेला परेका छन् ।

असोज १ गते आफ्नै बारीमा अलैंची टिप्न खेताला लिएर गएका लिम्बु सोहि दिनबाट हराएका थिए । धामी झाँक्रीको काम समेत गर्ने लिम्बु अलैंची बारीमा खेतालालाई छाडेर दिउँसो २ बजेतिर हिडेका थिए । त्यसयता बेपत्ता भएका उनको शव हिजो शनिबार घर नजिकैको जोगी खोलामा फेला परेको हो ।

लिम्बुको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलि घटनास्थल पुगेको छ । अनुसन्धान अधिकृत इन्स्पेक्टर दाहालका अनुसार मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको छ । घटनास्थल पुगेका उनले फोन सम्पर्कमा ब्लाष्टसँग भने,‘बाटोबाट १४ मिटर तल खोल्सामा शव भेटिएको छ । भिरालो ठाउँ भएकाले लडेर मृत्यु भएको हुन सक्ने अनुमान छ । पोष्टमार्टम रिपोर्ट पछि विस्तृत थाहा हुन्छ ।’