धरान/संविधान संशोधनको बाटोले २०४७ सालको संविधान ब्युँताउने खतरा रहेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले औंल्याएका छन् ।

नेपालको संविधान २०७२ पुनर्लेखन सम्बन्धमा आयोजित साक्षात्कार कार्यक्रममा पालुङ्वाले पार्टी संविधान पुनर्लेखनको पक्षमा रहेको दाबी गरे । ‘मधेशवादी दलहरू संशोधनको पक्षमा छन्, त्यसले चाहिँ २०४७ कै संविधान ब्यँताउने खतरा हुन्छ’ उनले सम्बोधनमा क्रममा भने, ‘यो संविधानले सबैकुरा समेटेको छैन, त्यसैले पुनर्लेखन हुनुपर्छ भन्ने पक्षमा हामी छौं ।’ उनले सर्वपक्षीय सहमतिबाट संविधानको आधारभूत पक्षहरू पुनर्लेखन गर्नुपर्ने बताए । ‘संविधान संशोधन भनेको चाहिँ संवैधानिक प्रक्रिया मात्रै हो’ –उनले भने ।

उनले निर्वाचन प्रणाली पनि जातीय प्रतिनिधित्वको समानुपातिक प्रणालीबाट अगाडि बढ्नुपर्ने पार्टीको अवधारणा रहको बताए । उनले प्रधानमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताए । ‘प्रधानमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्छ, जनताले चाहेको बेलामा बोलाउन सकियोस्’ –उनले भने । उनले धर्म निरपेक्षतामा अहिले पनि घुमाउरो तरिकाले व्याख्या गरिएको बताए ।

उनले नागरिकताको हकमा पनि संविधानमै प्रष्ट लेखिनुपर्ने धारणा व्यक्त गरे । ‘नागरिकताका विषयमा बारम्बार संशोधन नगरियोस्’ –उनले भने । अङ्गीकृत नागरिकताको हकमा सार्क देशको मान्यतालाई नै टेकेर जानुपर्ने सुझाव दिए । उनले अन्य पार्टीहरूले संविधान दिवसमा दीप प्रज्वलन गरेर मनाए पनि आफ्नो पार्टीले यसलाई कालो दिवसको रूपमा मनाउने बताए ।

उनले यस्ता कुराहरू पुनर्लेखन हुन जरुरी रहेको बताए । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समितिका अध्यक्ष विवेक राईले पार्टी संविधान संशोधनको पक्षमा नभई पुनर्लेखनको पक्षमा रहेको बताए । यसैबीच जनमुक्ति नगर कमिटीले पनि साक्षात्कार कार्यक्रम सम्पन्न गरेको नगर अध्यक्ष चित्र थापा मगरले जानकारी दिए । उनले पनि कार्यक्रममा संविधान पुनर्लेखन किन हुनुपर्ने भन्ने विषयमा प्रकाश पारेका थिए ।