विराटनगर । दुवै मृगौला फेल भएर उपचाररत उदयपुरको चौदन्डीगढी नगरपालिका ९ की ३१ वर्षिया टिकाकुमारी बस्नेत थापाले सहयोगको याचना गरेकी छन् ।
दुवै मृगौला फेल भएपछि पीडित भएकी टिका कुमारीले मृगौला प्रत्यारोपणको लागि सहयोगको याचना गरेकी हुन् ।
दुवै मृगौला फेल भएपछि उनी तीन वर्षदेखि उपचाररत छिन् । ‘२८ बर्षको उमेरमा मृगौला फेल भयो । काठमाण्डौका सबै अस्पताल चहारेँ, पैसा सकियो रोग निको भएन,’ उनले भनिन्, ‘मृगौला प्रत्यारोपण गर्न सके बाँच्ने चिकित्सकले भन्नुभएको छ । यसको लागि खर्चिलो हुने रहेछ । सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ ।’
सरकारले मृगौला पीडितको डायलासिस गर्दा शुल्क नलाग्ने भनेपनि महङ्गोमा इन्जेक्सन र औषधी किन्नुपरेको उनको गुनासो छ । ‘सरकारले निशुल्क डायलासिस हुन्छ भनेको छ । तर, औषधी र इन्जेक्सन किन्दा हप्तामा पाँच हजार भन्दा बढी खर्च हुन्छ’, उनले भनिन्, ‘अहिलेसम्म १५ लाख भन्दा बढी खर्च भइसक्यो । रोग जाति हुन सकेको छ्रैन ।’ आफु रोगी भएपछि जीवनभरी साथ दिने भनेर बिवाह गरेको श्रीमानले पनि छोडेको टिकाकुमारीले बताइन् । ‘अहिले ६ वर्षकी छोरी छ । श्रीमान तेजबहादुर थापा बैदेशिक रोजगारमा हुनुहुन्छ,’ टिकामायाले भनिन्, ‘आफुलाई रोग लागेपछि श्रीमान अहिले सम्पर्कविहिन हुनुभयो । यस्तो अवस्थामा साथ दिनुपर्नेमा श्रीमान लापता हुनुहुन्छ । फोन गर्दा काटिदिने गर्न थाल्नुभएको छ ।’
अहिले टिकाकुमारीले विराटनगरस्थित नोबेल अस्पतालमा डाइलासिस गर्दै आएकी छिन् । अध्ययन गर्न विराटनगरमा बसोवास गर्दै आएकी भतिजी छोरी कविता थापाको डेरामा बसेकी छिन् । ‘घरमा आम्दानी छैन, काकीको आफ्नो कमाई छैन । डायलासिस गर्नपनि गाह्रो भएको छ,’ छोरी कविताले भनिन्, ‘काकीको मृगौला प्रत्यारोपण गरेर बाँचेको हेर्ने इच्छा छ ।’
टिकाकुमारीको माइतीले पनि उपचारमा धेरै पैसा खर्च गरिसकेका छन् । उनीहरूले उपचारका लागि धेरै सरकारी निकाय र संघसंस्था धाएपनि सहयोग नपाएको गुनासो गरेको छ । टिकाकुमारीले उपचारमा सहयोगको लागि देश विदेशमा रहनुभएका सबैमा सहयोग गरिदिन आग्रह गरेकी छिन् । उनको सम्पर्क नम्बर ९८१५७०७२८३ रहेको छ । सानिमा बैंकको खाता नं. ०६७०११०९००००२ मा पनि सहयाेग गर्न सकिने उनले बताइन् ।