विजयपुर । सिराहाको कुर्सन्डी गाउँपालिका–५ नवराजपुर बस्ने ४५ वर्षीया मुर्तिदेवी यादवलाई बोक्सीको आरोपमा कुटपिट गरी दिशा पिसाब खुवाउनेहरु अझै पक्राउ परेका छैनन् ।

पीडित मूर्तिदेवीका छोरा गणेश यादवका अनुसार धर्मनाथ यादव लगायतका ८ जना छिमेकीहरुले गत भाद्र २८ गते रातको १२ बजे बोक्सीको आरोप लगाउँदै मूर्तिदेवीलाई मरणासन्न हुने गरी कुटपिट गरी दिशा पिसाब समेत खुवाएका थिए । गणेशका अनुसार कुटपिटबाट मूर्तिदेवीको मुख लगायत अन्य अङ्गमा घाउ भएको छ । मुखको एउटा हड्डि नै भाँचिएको छ । उनी भन्छन्, ‘कुटपिट गर्नेहरुले घरमा आएर हामी धनी, पहुँच भएका मान्छे हौँ । हामीलाई प्रहरीले पनि केहि गर्न सक्दैन भन्दै आमालाई कुटे । अनि दिशा पिसाब खुवाएर घर छेउको खेतमा फालिदिए ।’

छोरा यादवले आमासँगै आफुलाई समेत कुटपिट गरेको बताएका छन । मूर्तिदेवीको कुटपिट भएकै दिन कामना नर्सिङ होम लहान–३ सिराहामा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याई उपचार भइरहेको छ ।

आफ्नो आर्थिक अवश्था कमजोर रहेको र आमाको उपचारमा करिब ८० हजार खर्च भईसकेको गणेशले बताए । मूर्तिदेवीको अप्रेसन गर्नु पर्ने भएपछि थप खर्चको आवश्यकता रहेको उनले बताए । उनी भन्छन्, ‘हामी गरिब मान्छे भएकोले बोक्सी भनेर कुटपिट भयो, उपचारमा पनि आर्थिक समस्या छ । कसरी उपचार गर्ने चिन्ता लागेको छ ।’

पीडित परिवारले प्रहरीलाई आफुले जाने अनुसार सामान्य निवेदन दिएका थिए । तर प्रहरीले हालसम्म आरोपीहरुलाई पक्राउ गरेको छैन । इलाका प्रहरी कार्यालय कटारीका इन्स्पेक्टर अरबिन्दप्रसाद साहले पीडितले निवेदन दिएपनि किटानी जाहेरी नदिएकाले मुद्धा दर्ता नभएको जनाएको छ । उनले पीडित पक्षले उजुरी दिए कारबाही प्रक्रिया अघि बढाउने बताए ।