भद्रपुर । प्रदेश १ कै पहिलो बालमैत्री नगर घोषणाका लागि ८० प्रतिशत प्रगति पूरा गर्दै घोषणाको अन्तिम चरणमा पुगेकोे छ । प्रदेश १ मा नै पहिलो हुन लागेको भद्रपुर नगरपालिकाले हालसम्म गरेको प्रगतिका बारेमा नगर क्षेत्रमा रहेका सञ्चारकर्मीसित अन्र्तक्रिया मार्फत सार्वजनिक गर्दै तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

बालमैत्री नगर घोषित हुन १७ वटा चरण पार गर्दै ३९ वटा सूचकको ८० प्रतिशत प्रगति पूरा हुनु पर्ने मापदण्ड पार गरिसकेको नगरपालिकाले अझ व्यापक प्रगतिका लागि सञ्चारकर्मीसित सुझाव  लिँदै अन्र्तक्रिया सम्पन्न गरेको थियो ।
कार्यक्रममा नगरको प्रगति विवरण पेश गर्दै बालमैत्री अभियन्ता सुमन ढकालले जन्म दर्ता र शुद्ध पिउने पानीको पहुँच सुचक पूरा गर्न बाँकी रहेको भए पनि अन्य सूचक मापदण्ड पार गरिसकेको विवरण पेश गरेका थिए ।

कार्यक्रममा भद्रपुर बाल सञ्जालकी अध्यक्ष आरोध्या प्याकुरेलले बालबालिका भविश्यका कर्णधार मात्र नभएर वर्तमानको साझेदार भएकोले नीतिगत रुपमै नगरपालिका बालमैत्री अभियानमा लागेकोमा खुसी व्यक्त गरेकी थिइन् ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठले भौतिक पुर्वाधार विकासमा गरिएको अरबौं लगानी भन्दा उन्नतशील मानवीय सभ्यता निर्माणका लागि गरिने लाखौं लगानी दीर्घकालिन विकास बन्न सक्ने सोचेर बालमैत्री नगर निर्माणमा जुटेको प्रष्ट पारेका थिए । प्रमुख श्रेष्ठले सुन्दर भविष्य निर्माणको परिकल्पना गर्ने हो भने असल नागरिक बन्ने आधार तयार पारेर हिड्न सक्नु पर्छ भन्दै बालमैत्री नगर निर्माणमा सञ्चार जगतको भूमिका अपरिहार्य रहेको बताए ।
नगरपालिकाकी प्रेस संयोजक गङ्गा वरालले सञ्चालन गरेको कार्यक्रम बालमैत्री सरोकारवाला निकायका सदस्य सञ्चारकर्मी दीपक अधिकारीको अध्यक्षता तथा नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, पत्रकार महासङ्घ झापाका सभापति तारामणि सापकोटा लगायतले मन्तव्य राख्दै दीर्घकालिन विकासका रुपमा बालमैत्री नगर निर्माण गर्न देखिएका समस्या हल गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए ।
नगरले बालमैत्री घोषणाका लागि ०७४ मङ्सिरको पहिलो हप्ताबाट अभियान चलाएको थियो । ०७५चैत्र मसान्तसम्ममा घोषणाको तयारीमा रहेको नगरपालिका कोभिड १९ का कारण घोषणा गर्न नसकिएको जनाएको छ ।