यासोक/ ६७ वर्षदेखि सुकुम्बासी जीवन बिताउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिका–५ का होमबहादुर माझीको घर निर्माण भएको छ ।

वडा कार्यालयको पहलमा लालपुर्जा प्राप्त गरेसँगै माझी परिवारले घर निर्माण गरेको हो । ५ नम्बर वडा कार्यालयका जनप्रतिनिधिहरूले ५० हजार रकम सङ्कलन गरी लालपुर्जा बनाइदिएका थिए । ६७ वर्षपछि जग्गाधनी बन्दा होमबहादुरको परिवार दङ्ग छ । तमोर कोरिडोर सडक–खण्डको स्यावरुम्बा खण्डमा माझीको घर निर्माण भएको छ । स्थानीय ओमाकान्त निरौलाले लाखौं रुपैयाँ पर्ने जग्गा ५० हजारमा दिएका थिए । जग्गाको धनीपुर्जा वडाले माझी परिवारलाई दिएको थियो । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ को लुम्बुघाटस्थित सार्वजनिक जग्गाको सानो छाप्रोमा बस्दै आएका माझी परिवार अब आफ्नै घर र जग्गामा बस्न पाउने भएका छन् ।

होमबहादुरको सडकछेउमै तीन तले घर निर्माण हँुदै आएको छ । घर निर्माणको काम पूरा हुन लागेको छ । घर छाउन आवश्यक जस्तापाता वडाले दिएको छ । सुरु–सुरुमा सबैले सुकुम्बासी भन्दा नमिठो लाग्ने गरेको उनी आफ्नो विगत सझिन्छन् । ‘अब त हामी जग्गाधनी भयौं । जग्गा नभएको, घर नभएको भनेर कसैले हेप्दैनन्’ हर्षित मुद्रामा उनले भने, ‘धेरै वर्ष भयो अर्काको मेलापात गएको दुःख गरेको, जाउँ त कहाँ जाउँ जाने ठाउँ थिएन । अब त ठूलो प्रमाण भयो, कसैले तेरो केही छैन भन्न पाउँदैनन् ।’

होमबहादुरका श्रीमतीसहित ४ छोरा र ३ छोरी गरी ९ जनाको परिवार छ । लामो समयदेखि सङ्घर्ष गर्दै आएको परिवारले व्यापार–व्यवसाय सञ्चालन गर्नसक्ने स्थानमा जग्गा पाएसँगै घर निर्माण गरेको छ । ‘गाडीको बाटोमै घर बनाइन्छ जस्तो लागेको थिएन’ श्रीमती थेप्रीमाया माझीले हर्षित मुद्रामा भनिन्, ‘घर बनाउँदा सबैले सहयोग गरेका छन् । अब त सानोतिनो व्यवसाय गरेर भए पनि जीविका चल्छ जस्तो लागेको छ ।’

गाउँपालिकाले कुम्मायक–५ र ३ नम्बर वडामा बसोबास गर्दै आएका माझी र भुजेल समुदायका विपन्न नागरिकको आवास सुरक्षा अन्तर्गत घर निर्माण र सुकुम्बासी नागरिकको बसोबासको व्यवस्था गर्दै आएको छ । उनीहरूले पाउने गाँस, बास र कपासको विषयमा वडादेखि गाउँपालिका कार्यायलसम्म लागिपर्दै आएको कार्यालयले जनाएको छ ।