विजयपुर/ धरान–८ तीनकुने सुन्दर बस्ती आयोजनाको बसपार्कबाहेक अन्यको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि सर्भे थालिएको छ ।

बसपार्कको पनि शिलान्यास भएपछि मात्रै डीपीआर बनेको थियो । आयोजनाको डीपीआरका लागि हालै स्थलगत अनुगमन गरेर सर्भे गर्न थालिएको हो । तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा बसपार्क तथा सडक लगायतका पूर्वाधार निर्माणका लागि लगाइएको बाली हटाउन सोमबार सूचना प्रकाशित गरिएको थियो । ७ दिनभित्र जग्गा खाली नगरे नगरले खाली गर्ने बसपार्क निर्माण आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए ।

नगरको लेटरप्याड प्रयोग नगरी सूचना जारी गरिएको छ । जसमा मितिसमेत उल्लेख छैन । जसले गर्दा नगरको आधिकारिक सूचना हो या गलत सूचना हो भन्नेमा खेती गरेका स्थानीयहरू अन्यौलमा परेका छन् । सूचनामा सीमाङ्कनको कार्य समाप्त भएपछि सम्बन्धित जग्गाधनीलाई आफ्नो जग्गा देखाई जानकारी गराउने जनाइएको छ । १३ बिघा क्षेत्रफल रहेको स्थानमा अहिले बाली लगाइएको छ । डीपीआरका लागि असोज पहिलो हप्ताबाट स्थलगत रूपमा सर्भे गरी कार्य थालिने जनाइएको छ । आयोजनास्थलमा लगाइएको बालीका कारण नापजाँच र सीमाङ्कन गर्न नमिल्ने भएको हुँदा खाली गर्न लगाइएको हो ।