धनकुटा/ धनकुटा साविक पाख्रीबास नगरपालिका–४ (हाल–३ कसेनी टोल) का बासिन्दाले वडा कार्यालयबाट प्रवाहित सेवा उपभोग गर्न कठिनाइ भएको भन्दै सीमा हेरफेरको माग गरेका छन् ।

उनीहरूले बुधबार नगरपालिका कार्यालयलाई ज्ञापन–पत्र बुझाएका छन् । कसेनीका ६० घरधुरीले नगर प्रमुख वृषबहादुर राईलाई ज्ञापन–पत्र बुझाएका हुन् । हाल पाख्रीबास कृषि अनुसन्धान केन्द्रनजिकै वडा कार्यालय रहेको छ । ३ नम्बर वडाको भौगोलिक सीमा उत्तरतर्फ धनकुटा–१ हिले र दक्षिणतर्फ कसेनी भुल्केसम्म जोडिएको छ । उनीहरूले आफूहरू बाध्य भएर टोलवासीको संयुक्त निर्णयले हस्ताक्षर सङ्कलन गरी टोललाई हालको पाख्रीबास–४ नम्बर वडामा समेटी दिन निवेदन दिएको स्थानीय चकेन्द्रकुमार राईले बताए ।

मिलन देवान राईले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–२ को दफा ६ मा व्यवस्था भएको सीमा हेरफेरसम्बन्धी कानूनी आधारलाई टेकेर आफूहरूले माग गरेको बताए । कसेनी टोलमा करिब ३ सयभन्दा बढी जनसङ्ख्या रहेको छ । ज्ञापन–पत्र बुझ्दै पाख्रीबास नगरपालिकाका प्रमुख राईले टोलवासीको मागलाई सम्बोधन गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले टोलवासीको पूर्ण सहमति हो भने टोलवासीहरूको आम भेला बोलाएर भेलाको निर्णयसहित नगरपालिका अघि बढ्ने बताए । ‘टोलवासीहरू नै राजीखुसी साथ पाख्रीबास वडा नं. ३ बाट ४ नम्बर वडामा समाहित हुन तयार हुन्छन् भने सोहीअनुसार प्रक्रिया अघि बढाइनेछ’–प्रमुख राईले भने । टोलवासीबाट प्रेम सापकोटा, नेत्रकुमार सापकोटा, मीनकुमार देवान, क्षितिज वोखाङ राई, श्यामकुमार राई, नगेन्द्रकुमार राईलगायत उपस्थित थिए । जिल्ला प्रशासन कार्यालय धनकुटालाई पनि बोधार्थ दिएका छन् ।