इटहरी/ सङ्गठन विपरीत कार्य गरेको भन्दै एक नम्बर प्रदेश प्रहरी कार्यालयले विराटनगरले एक वर्षमा २ सय ७५ जना प्रहरीलाई विभागीय कारबाही गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा सइदेखि जवानसम्मका २ सय ७५ जना प्रहरीलाई कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । १० जना सइ, २२ जना असइ, ५९ जना प्रहरी हवल्दार र १ सय ८४ जना प्रहरी जवान कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता सुमन तिम्सिनाले बताए ।
सङ्गठनमा आँच आउने गतिविधि गरेकाले कारबाही गरिएको प्रवक्ता तिम्सिना बताउँछन् । विभागीय कारबाहीमा नसिहत दिने, पद घटुवा, सेवा अवधिको कम गणना, पदोन्नति रोक्का, अभिलेखमा प्रतिकूल राय राख्ने, ग्रेड घटुवा, ग्रेड रोक्का, निलम्बन लगायत गर्ने उनले बताए । प्रवक्ता तिम्सिनाका अनुसार गलत कार्य गर्नेविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने सङ्गठनले नीति लिएर कारबाही सङ्ख्या अघिल्लो वर्षभन्दा यो वर्ष घटेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष २०७५/७६ मा ४ सय प्रहरीलाई कारबाही गरिएको थियो । एक डिएसपीसहित १ नम्बर प्रदेशमा ४ सय जना कारबाहीमा परेका थिए । १ जना इन्स्पेक्टर, १० जना सइ, ४२ जना असइ, ९६ जना प्रहरी हवल्दार र २ सय ५० जना प्रहरी जवान कारबाहीमा परेका थिए । अघिल्लो वर्षको तुलनामा कारबाहीको सङ्ख्या न्यून रहेको छ ।
सङ्गठनको नीति नियमविरुद्ध काम गर्नेलाई कारबाही र राम्रो काम गर्नेहरूलाई सम्मान गर्ने अभियान चलाइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तत्कालीन पूर्व क्षेत्रका डिआईजी नवराज सिलवालले थालेको पुलिस अफ दी मन्थ घोषण अभियान अहिले बढ्दै गएको छ । प्रदेश प्रहरीसँगै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले समेत मातहतका प्रहरीलाई कामको मूल्याङ्कनको आधारमा सम्मान कार्यक्रम गर्ने गरेका छन् । प्रहरीमा तल्लो दर्जाका प्रहरीहरू सम्मान पाउँदा सङ्गठन सुदृढीकरण भएको एक नम्बर प्रहरी कार्यालयको दाबी छ ।
आर्थिक वर्ष २०७६/७७ मा एक डिएसपीसहित १ हजार ३ सय ४५ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा प्रहरी जवान बढी छन् । आर्थिक वर्ष २०७५/७६ मा ३ जना डिएसपीसहित ८ सय ९९ प्रहरीलाई सम्मान गरिएको थियो । प्रदेश एकमा ४ सय ८० वटा प्रहरी युनिट रहेका छन् । प्रदेश एक प्रहरी कार्यालयको दरबन्दी १ हजार ५ सय ४९ जनाको हो ।