इनरुवा । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीसँग पछिल्लो पटक क कस्को सम्पर्क भएको थियो भन्ने चासो बढेको छ ।
प्रमुख राजभण्डारीका अनुसार उनी अन्तिम पटक भदौ १९ गते कार्यालयको मिटिङमा सहभागि थिए । १७ गते नुहाएर निस्के लगत्तै स्वास्थ्यमा सामान्य असहजता महसुस भएपछि उनले नर्स समेत रहेकी छोरीसँग घरमै स्वास्थ्य जाँच गराएका थिए ।
राजभण्डारीले भने, ‘अवस्था सामान्य रहेकाले १९ गतेको मिटिङमा सामाजिक दुरी कायम गरी सहभागी भएको थिएँ । कार्यालयमा डाकिएको नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्रि सम्वन्धि जिल्ला अनुगमन समितिको बैठकमा आफुले आफ्नो स्वास्थ्य अवस्थाको बारे जानकारी गराउँदै दुरी कायम गरी बैठक संचालन गरिएको बताए ।
जिसस प्रमुख राजभण्डकारीको संयोजकत्वमा बसेको बैठकमा उपप्रमुख कृष्णकुमारी विक, सहित सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल समेतको उपस्थिति रहेको पाइएको छ ।
राजभण्डारीका स्वकीय सचिव अच्युत भण्डारीका अनुसार उक्त बैठकमा समितिका पदाधिकारीहरु मध्ये बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेल, डिभिजन वन कार्यालय प्रमुख ज्ञानकुमार लामाको उपस्थिति रहेको थियो ।
त्यसैगरी उक्त बैठकमा धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरे, डिभिजन वन कार्यालय सुनसरीका अधिकृत प्रेमप्रसाद सापकोटा, इटहरी उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरीका साथै जिसस सदस्यहरु शम्भु विश्वास, अहिल्या देवी मेहता र दुहवी नपाका डिकबहादुर कटवाल समेतको उपस्थिति रहेको पाइएको छ ।
जिसस प्रमुख राजभण्डारीले बैठकमा सहभागी सबैलाई कोरोना जाँच गराउन आग्रह गरेका छन् । राजभण्डारीले बैठक पश्चात आफु घरमै आराम गरी बसेको अवस्थामा ज्वरो आउने क्रम नरोकिएपछि २२ गते स्वाब दिएको बताए । सो क्रममा रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनले आफ्नो अवस्था सामान्य रहेको र होम आइसोलेसनमै रहेको जानकारी समेत दिए ।
राजभण्डारीले आफ्नो सम्पर्कमा रहेकाहरुको हकमा कन्ट्याक्ट ट्रेसिङका क्रममा जानकारी समेत गराउने बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरु नछुटुन भनेर सबैको जानकारीकालागि स्वास्थ्य जाँच गराउन वा स्वास्थ्यकर्मीको परामर्श लिन आफुमा कोरोना पुष्टि भएको विषय सार्वजनिक गरेको बताए ।