इनरुवा । जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वयं सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराएका छन् । भण्डारीले गढी गाउँपालिकामा २२ गते स्वाब दिएका थिए । उनका अनुसार आज प्राप्त परीक्षण रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखा परेको हो ।
भण्डारीले आफुमा कोरोना संक्रमण पुष्टि भएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन् ।
उनले भने, 'कार्यालयको कामकाज, आकस्मिक मिटिङ लगायत विभिन्न अन्य कामकाजका दौरान जो कोहीसँग आफ्नो सम्पर्क रह्यो ती सबैलाई स्वास्थ्य जाँचको लागि अनुरोध गर्दछु ।'
भण्डारीले आफ्नो सम्पर्कमा रहेकाहरुको हकमा कन्ट्याक्ट ट्रेसिङकका क्रममा जानकारी गराउने बताए । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरु नछुटुन भनेर सबै सामू स्वास्थ्य जाँच गराउन वा स्वास्थ्यकर्मीको परामर्श लिन आग्रह गरिएको बताए ।
भण्डारीका स्वकीय सचिव अच्युत भण्डारीका अनुसार संक्रमण पुष्टि भएसँगै सभापति भण्डारी होम आइसोलेसनमा छन् । उनको अवस्था सामान्य छ ।