उदयपुर/ लिफ्टिङ प्रणालीबाट उदयपुरको बतासेमा खानेपानीको समस्या समाधान भएको छ । उदयपुरगढी गाउँपालिका–७ बतासे गाउँका लागि लिफ्टिङ प्रणालीको खानेपानी योजना सफल भएपछि वर्षौंको खानेपानी समस्या समाधान भएको हो ।

पालिकामा सबैभन्दा बढी खानेपानीको समस्या झेलेको बतासे गाउँमा विद्युत् पुगेपछि विद्युत्को प्रयोग गरी लिफ्टिङ प्रणालीबाट खानेपानी समस्या समाधान भएको पालिकाले जनाएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र नं. २ का सङ्घीय सांसद् सुरेशकुमार राई (हिमाल)को निर्वाचन क्षेत्र विकास कोषबाट ४३ लाख २५ हजार ७ सय १५ रुपैयाँ र जनश्रमदान ३ लाख ५२ हजार ३ सय ८१ रुपैयाँ गरी कुल ४६ लाख ७८ हजार ९६ रुपैयाँ लागतमा गतवर्षको फागुनदेखि सुरु भई चार महिनाभित्र योजना सम्पन्न भएको हो । निर्वाचन क्षेत्र विकास कोष र उपभोक्ताहरूको सक्रिय सहभागिताले समयमै योजना सम्पन्न भएको र गुणस्तरीय पनि रहेको उपभोक्ता समितिले जनाएको छ । योजनाका लागि गतवर्ष डिपीआर गरिएको थियो ।

गाउँकै एक पानीको मुहानबाट करिब १ सय १२ मिटर माथि लिफ्टिङ गरी रिजर्भ ट्याङ्कीमा पानी जम्मा गरिएको छ । रिजर्भ ट्याङ्कीमा जम्मा भएको पानी गाउँका ४६ वटा धारामा जाने उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर बुर्जा मगरले बताए । विद्युतीय प्रणालीमा १२ एसपी क्षमताको पाइपबाट पानी माथि तानिएको छ । यसरी पानी लिफ्टिङ प्रणालीबाट गाउँका लागि खानेपानीको समस्या समाधान भएको उनले बताए ।

विगतमा घण्टौं डोकोमा घैला बोकेर खोली, कुवा, पँधेराबाट पानी भरेर ल्याउनु पर्ने बाध्यता थियो । खानेपानी योजनाका लागि मुहान नै नभेटिएपछि नेवा संस्थाले वर्षाको पानी जम्मा गर्नका लागि घर–घरमा घैलासमेत निर्माण गरिदिएको थियो । वर्षामा आकाशबाट परेको पानी जम्मा गरेर गाउँलेले ६ महिनासम्म प्रयोग गर्ने गरेको उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानु राउनले बताइन् ।

घैलाको पानी पर्याप्त नभएकाले गाईवस्तुलाई खुवाउन, नुहाउन, सरसफाइमा समस्या थियो । तर अहिले लिफ्टिङ खानेपानी आयोजनाबाट पानी धारामा आएपछि पिउन, नुहाउन, लुगा धुन, चर्पीमा प्रयोग गर्न र सरसफाइका लागि पर्याप्त भएको स्थानीय शोभा खड्काले बताइन् ।

खानेपानी योजनामार्फत् पानी आएपछि गाउँमा पशुपालन फस्टाउने भएको छ । हिजोको दिनमा घण्टौं पानी ओसार्ने समय अब कृषि तथा अन्य आयआर्जनमा प्रयोग गर्न सकिने भएको छ । बतासे गाउँ दूध उत्पादनका लागि गाई, भैंसी पालन, मासु उत्पादनका लागि खसीबाख्रा, राँगा, बङ्गुरपालनको राम्रो सम्भावना भएको पालिकाले जनाएको छ ।

गाउँमा बिजुली, कच्ची सडकसँगै खानेपानी पनि पुगेकाले त्यस ठाउँको समृद्धिका लागि विकासको पूर्वाधार तयार भएको छ । विशेषगरी कृषितर्फ पशुपालन र तरकारी, फलफूल उत्पादनबाटै त्यस ठाउँको समृद्धि हुने देखिएको पालिकाले जनाएको छ ।