धरान । ‘द रक’ नामले परिचित हलिउड नायक डिवाइने जोन्सनसहित परिवारलाई नै कोरोना भाइरस सङ्क्रमण भएको छ ।

नायक जोन्सनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ‘कोरोना भाइरसबाट परिवारै पीडित भएको’ उल्लेख गरेका छन् । बुधबार ११ मिनेटभन्दा लामो भिडियो सार्वजनिक गरेका हुन् ।

उनले कसरी यस्तो दुःखद् घटना हुन पुग्यो भनेर चिन्ता व्यक्त गरेका छन् । उनीसहित श्रीमती लाउरेन ह्यासहिऐन र दुई जना छोरीलाई कोरोना भएको हो ।

जोन्सनले आफूसँग निकट भएका साथीभाइ तथा आफन्तहरूलाई स्वास्थ्य परीक्षण गर्न सल्लाह दिएका छन् । उनका दुई छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले उल्लेख गरेका छन् ।

उनले अनिवार्य मास्क लगाउन र शरीरको प्रतिरोधात्मक क्षमताको विकास गर्नका लागि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘म सबैलाई आग्रह गर्न चाहन्छु कि अनिवार्य मास्क लगाउनुस् र आफ्नो शरीरको ख्याल गर्नुस् । इम्युनिटी पावर बढाउने खानेकुरा खानुस् ताकि तपाईंले आफूलाई ठीकठाक भएको महसुस हाेस् ।’

यस्तै एक दिनअघि मात्रै ब्राजिलिय फुटबल स्टार नेइमार जुनियरसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) का ‘टिममेट’ एञ्जल डी मारिया र लियोनार्दो परेडेजलाई पनि कोरोना पुष्टि भएको छ । पछिल्लो पटक पीएसजीले च्याम्पियन्स लिगको फाइनलमा भिडन्त गरेका थिए ।

पोर्चुगलको लिस्वनमा अगस्ट २३ तारिखका दिन सम्पन्न फाइनलमा जर्मन क्लब बायर्न म्यूनिकसँग १–० गोलले पराजित बनेको थियो ।

जुनबेला नेइमार एकदमै निराश बनेका थिए । उनीहरूलाई कोरोना भएको बारे पीएसजीले आधिकारिक रूपमा जानकारी गराएको थियो ।