पथरी । मोरङको कानेपोखरी–४ का ८५ वर्षीय एक बृद्धले आफ्नो घरमै बसेर कोरोना जितेका छन् । बयरवन चोकका ८५ वर्षीय भरतबहादुर कार्कीले होम आइसोलेसनमै बसेर कोरोना जितेका हुन् ।
बिहीबार कार्कीसँगै कार्कीको कन्टयाक ट्रेसिङमा परेका १० जना र जनसेवाको क्वारेन्टिनका ५ जनासहित जम्मा १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको क्वारेन्टिनका संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेतले बताए । कार्की दुई हप्ताअघि घरमा ज्वरो आउने समस्या देखिएपछि माेरङकाे मंगलबारे अस्पताल हुँदै विराटनगर लगिएकाे थियाे ।
विराटनगरको कोशी अस्पतालको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखाएपछि विराटनगरमा रहेका छोराले होमआइसोलेसनमा बस्न भनेर राति नै एम्बुलेन्समा बयरवनको घरमा पठाइदिएका थिए । घरमा पतिपत्नी मात्र बस्दै आएका थिए । उता विराटनगरका छोराको घरमा परिवार बिरामीको कारण बयरवनको घर पठाएको बुबा भरतबहादुर बताउँछन् ।
कोराना लागेका ८५ वर्षीय भरतबहादुर घरमै ल्याएपछि कार्कीका छिमेकी युवा ओमप्रसाद ओझाले बिहान बेलुका घरमै बसेर हेरचार गर्ने गरेका थिए । ओझाले आफ्नै बुबा जस्तै स्याहारसुसार गरे । उनले तातो पानी, बेसार पानी, खाना जस्ता खानेकुरा आफै पकाएर खुवाएको उनी बताउँछन् । अहिले ओझा र कार्कीका पत्नीको पनि पीसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
अहिले आफ्नो र छिमेकीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँका सबै खुशी छन् । यसअघि रिपोर्ट नआएसम्म तनावमा रहेको छिमेकी गंगाप्रसाद ढुंगानाले बताए ।
सुरुमा उनी घरमा आएपछि क्रमशः तन्दरुस्त हुँदै आएका थिए । निको हुँदै आएपछि सबैलाई नेगेटिभ आउने आशमा बसेका थिए । संक्रमित कार्कीलाई त्यहाँका छिमेकीहरूले दैनिक हौसला दिने गरेका थिए ।
कानेपोखरी स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले होमआइसोलेसनमा जाने र स्वास्थ्यस्थिति बुझ्ने जस्ता कामहरू दैनिक गर्दै आएको क्वारेन्टाइनका संयोजक खड्ग बस्नेतले बताए । उता स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले होमआइसोलेसन सबैभन्दा राम्रो हुने बताए ।