विराटनगर । विराटनगरमा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिएर सङ्क्रमणको दर दैनिक बढेपछि प्रदेश १ सरकारले एक हजार शैय्याको आइसोलेसन बनाउने भएको छ ।

प्रदेश स्तरीय सिसिएमसीको बिहीबार भएको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार शैय्या हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको छ । सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार शैय्या क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी कम अगाडी बढाउने जानकारी गराए ।

प्रदेशभित्र हालसम्म आइसोलेसनको प्रयोगको अवस्था सहित विस्तृत विवरण तयार गर्न सम्बन्धित मन्त्रालयलाई मुख्यमन्त्री राईले निर्देशन दिएका छन् ।  आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई प्रदान गरिएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन हुनेछ ।

बैठकले प्रदेश भित्र लकडाउन र निषेधाज्ञा क्रमशः हटाउँदै जाने, सङ्क्रमण देखिएका स्थानमा मात्र सिल गरी कोभिड–१९ को चेन ब्रेक गर्ने र कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसँग समन्वय गरेर अगाडी बढ्ने नीति लिएको मुख्यमन्त्री राईको भनाई छ ।

बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीहरुको लागि तोकिएको प्रवेश विन्दुहरुका अतिरिक्त पशुपतीनगर इलाम, रंगेली मोरङ्ग, टाङ्गनडुवा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु (नाका) कायम गर्ने निर्णय समेत गरेको छ । भोजपुर नगरपालिका–६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ शैय्याको आइसोलेसन वार्ड सञ्चालन एवं उदयपुरको नेत्र ज्योति संघद्धारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमति समेत बैठकले दिएको छ ।

बैठकले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान,२०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालका लागि यो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ ।