भण्टाबारी/ नेपाल–भारतबीच रहेको खुल्ला सीमाका कारण यसक्षेत्रमा बेला–बेला विवाद भइरहन्छ । कहिलेकाहीँ हुने त्यस्ता सानो विवादले कुनै बेला ठूलो रूपसमेत लिएको विगतका उदाहरणहरू छन् ।

त्यसरी स्थानीयबीचमा हुने विवाद दुवै क्षेत्रका सुरक्षाकर्मी समक्ष पुग्ने गर्दछ । कोरोना भाइरसका कारण नेपाल–भारतबीच रहेको खुला सीमा सिल रहे पनि समय–समयमा आपराधिक गतिविधि हुने क्रम भने रोकिएको छैन । त्यस्ता आपराधिक गतिविधिका साथै चोरीपैठारी नियन्त्रण गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त गस्ती गरिरहेका छन् ।

उनीहरूले जिल्लाको विभिन्न सीमा नाकाहरूमा छुट्टाछुट्टै टोली बनाएर गस्ती गर्दै आएका छन् । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, चोरीपैठारी नियन्त्रणका साथै कोरोना सङ्क्रमित व्यक्ति आउन नदिन भारतीय एसएसबीसँग समन्वय गरेर नियमितरूपमा गस्ती गर्दै आएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्का बताउँछन् । संयुक्त गस्तीको क्रममा दसगजा क्षेत्रमा अतिक्रमणको अवस्था, सीमा स्तम्भलगायतका बारेमा समेत खोजीकार्य गरिरहेको उनको कथन छ ।

अधिकांश सीमास्तम्भ जीर्ण
नेपाल–भारत सिमानामा रहेका अधिकांश सीमास्तम्भ जीर्ण अवस्थामा रहेको पाइएको छ । भारतसँग सीमा छुट्याउन सुनसरीका विभिन्न स्थानमा राखिएका २ सय ९० सीमास्तम्भमध्ये अधिकांश जीर्ण अवस्थामा छन् ।

सिमानामा रहेका जङ्गे पिलर कुनै भत्केको वा जीर्ण भएको तथा कुनै बालुवाले पुरिएको अवस्थामा छन् । नेपाल–भारत सीमा क्षेत्रमा २ सय ९० वटा सीमास्तम्भ हुनुपर्नेमा हाल २३ वटा हराएको पाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले कागजी तथ्याङ्कमा २३ वटामात्र सीमास्तम्भ हराएको बताए पनि लामो समयदेखि खोजीकार्य नभएकोले त्योभन्दा धेरै सीमास्तम्भ हराएको अनुमान गरिएको छ ।

हराएका बाहेक अरू सुरक्षित रूपमा रहेको भनिएका सीमास्तम्भसमेत धेरैजसो मर्मत–सम्भार नहुँदा जीर्ण बनेका छन् । सीमास्तम्भ जीर्ण अवस्थामा रहेको हुँदा स्पष्ट रूपमा लेखिएको देख्न सकिने अवस्था छैन । जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा सीमा निर्धारणपछि गाडिएको स्तम्भ पुस्तौं बितिसक्दा समेत मर्मत–सम्भार नहुँदा जीर्ण बनेका हुन् । विभिन्न समयमा सीमास्तम्भ मर्मत गर्ने नेपाल–भारतबीच सहमति भए पनि हालसम्म कार्यान्वयन भएको पाइँदैन ।

नेपाल सरकारले सीमा सुरक्षाका लागि स्थापना गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनशक्ति अभावको कारण देखाउँदै सीमा सुरक्षा कार्यसमेत गर्न समस्या पर्ने गरेको जनाउँदै आएको छ । जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले पटक–पटक सीमास्तम्भ मर्मत–सम्भार गर्न कूटनीतिक पहल गर्न नेपाल सरकार समक्ष सिफारिस गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन ।

भारतसँग सीमा जोडिएको सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा हराएका सीमास्तम्भ खोजी गर्न एसएसबीसँग सहकार्य गरेको इन्स्पेक्टर खड्काले जानकारी दिए । नेपाल–भारतको क्षेत्र छुट्याउने आधार सीमास्तम्भ भएकोले संयुक्त रूपमा हराएका सीमास्तम्भको खोजीमा लागेको सशस्त्र प्रहरीले जनाएको छ । भारतसँग सीमा जोडिएको कोशी गाउँपालिका–८ स्थित भण्टाबारी क्षेत्रमा ४९ वटा सीमास्तम्भ हुनुपर्नेमा २६ वटामात्र सुरक्षित रूपमा रहेको र २३ सीमास्तम्भ हराएको अवस्थामा छ ।

सप्तकोशी नदीमा पानीको बहाव बढेर आउँदा सीमास्तम्भ बालुवाले पुरिएको अवस्थामा रहेको देखिन्छ । सीमास्तम्भको खोजीकार्य गरिनुका साथै सीमामा शान्तिसुरक्षा कायम राख्न संयुक्तरूपमा गस्ती गर्दै आएको इन्स्पेक्टर खड्काले बताए । दुवै देशका लागि सीमास्तम्भ चासोको विषय भएकोले संयुक्तरूपमा खोजीकार्य गरिएको भारतीय एसएसबीको भनाइ छ ।