वराहक्षेत्रस्थित नडाहाको सव–डिभिजन वन कार्यालयमा घाटगद्दी गरिएको काठ रातारात गायब भएको विषयमा कार्यालय प्रमुख महेशकुमार साहलाई वन कार्यालयले नै जोगाउन लागेको आरोप लागेको छ ।
धरान/ताप्लेजुङबाट साउन १५ गते कार्यालय हाजिर भएका डिभिजन वन कार्यालयका निमित्त प्रमुख ज्ञानकुमार लामाले पन्ध्र दिन नबित्दै ४१.६९ क्यूविक फिट सखुवा प्रजातिको गोलिया काठ बरामद गरे ।
राष्ट्रिय वन क्षेत्रबाट चोरीतस्करी गर्ने उद्देश्यले काटिएको ठूलो–सानो गरेर १२ थान गोलिया साउन ३० गते बरामद गरेर सव–डिभिजन वन कार्यालय वराहक्षेत्रमा घाटगद्दी गरे । शुक्रबारको दिन थियो । साँझतिर बरामद भएको प्रतिबन्धित काठ घाटगद्दी गरेर भोलिपल्ट अर्थात् शनिबार नापजाँच गर्न पठाइयो । तर, बिहान पुगेका वन अधिकृतहरूले काठ फेला पारेनन् । रातारात काठ गायब भएपछि डिभिजन वन कार्यालय खोजीमा जुट्यो । निमित्त अधिकृत लामा भन्छन्, ‘हो, जाँदा अलरेडी थियो, जिल्लाबाट भोलिपल्ट पठाउँदाखेरी हराएको थियो ।’
त्यसबेला सव–डिभिजन वन कार्यालय धरान र डिभिजन वन कार्यालयबाट खटिएका टोलीले खोजी गर्दा केही पर रहेको अवस्थामा भेटिएको थियो । गाउँलेहरूसँग बुझ्दा सव–डिभिजनका प्रमुख साहमाथि नै इङ्गित गरेका थिए । त्यो आधारमा प्रतिवेदन पनि बन्यो । ‘गाउँलेले दिएको जानकारीको आधारमा कार्यालय प्रमुख साह नै दोषी देखिने भनाइहरू आए’ –वन कार्यालयका एक कर्मचारी भन्छन् । यता काठ बरामद गर्नमा भूमिका खेलेका निमित्त वन अधिकृत लामाले ‘प्रतिवेदनमा’ किटानीका साथ नआएको दाबी गरे । उनले भने, ‘सुनेको भरमा मात्रै हुँदैन, प्रमाणहरू पुग्नुप¥यो नि, फलानाले लगेको भनेर कुनै किसिमको कागजहरू भएन, सुनिजाने र देखिजाने मात्रै भयो, गरीजाने भएको छैन । त्यसका लागि अनुसन्धान अधिकृत खटाइदिएको छु । उहाँहरूबाट कसरी आउँछ ।’
नाम नछाप्ने शर्तमा स्थानीयले सव–डिभिजनका प्रमुख साहलाई बचाउने प्रपञ्चमा डिभिजन वन कार्यालय सुनसरी लागेको आरोप लगाए । एक स्थानीयका अनुसार पछिल्लो पटक खटिएका वनका अधिकारीहरूले सर्जमिन मुचुल्कामा ‘वन प्रमुख साह’ को नाम कहीँकतै उल्लेख नभएको बताउँछन् । यता निमित्त प्रमुख लामा भन्छन्, ‘नयाँ दुई जना अधिकृतहरूलाई खटाइदिएको छु, उनीहरूले के प्रतिवेदन ल्याउँछन् ।’ घाटगद्दीबाटै काठ गायब भएको हिसाबले त्यहाँको (सव–डिभिजन वन कार्यालय) प्रमुख नै जवाफदेही हुनुपर्ने भएकाले डिभिजन वन कार्यालयले त्यो विषयमा छुट्टै स्पष्टीकरण लिने उनले बताए । ‘उहाँलाई सोध्ने कुरा त छँदैछ, त्यहाँको प्रमुख भएकाले उहाँ नै जवाफदेही त बन्नुपर्यो नि, उहाँलाई सोध्ने त बाँकी छ अझै, अहिले हामी अनुसन्धान गर्दैछौं, चरणबद्ध हुन्छ’–उनले भने ।
उनका अनुसार सहायक वन अधिकृत तहका गोपाल दाहाल र अखिलेस गुप्तालाई जिम्मेवारी दिएर पठाएको बताए । डिभिजन वन कार्यालयबाट जिम्मेवारी पाएकामध्ये गोपाल दाहालसँग बुझ्दा भने, ‘हामीले जनतासँग बुझ्यौं, राति चोरी भएको भन्ने कुरा आएको छ । कसले चोरी गरेको भन्ने अहिलेसम्म प्रमाणित भइसकेको छैन ।’ कार्यालय प्रमुख साहको भूमिका रहेको भन्ने जिज्ञासामा उनले थपे, ‘त्यो खालको आशङ्का चाहिँ हो । कसैले बोलिराखेको छैन । थप बुझ्ने काम भइरहेको छ । प्रमाण नपुगीकन बोल्न मिलेन । यथार्थ कुराको खोजीमा छौं ।’
कार्यालयका प्रमुख साहलाई बुझ्दा घाटगद्दी गरिएको स्थानभन्दा अर्को स्थानमा सुत्ने गरेकाले पनि आफूलाई थाहा नभएको जानकारी दिएको उनले बताए । अनि प्रमुख साहलाई बचाउने प्रयासमा लागेको भन्ने आरोप छ नि भन्ने जिज्ञासामा उनले भने, ‘प्रमाण पुग्यो भने त बचाउने कारण नै छैन, राज्यको ढुकुटी खाएर राज्यलाई दोहन गर्नेलाई बचाउने भन्ने नै हुँदैन । तर, प्रमाणको अभाव छ । यथार्थ कुराको खोजीमा छौं ।’