भण्टाबारी/ बीपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्च सुनसरीले विविध कार्यक्रम गरी मनाउने भएको छ ।

अघिल्लो वर्षहरुमा हुँदै आएको कार्यक्रम भन्दा यो वर्ष कोरोना भाइरसका कारण अवस्था सामान्य नरहेको हुँदा समयको मागअनुसार विविध कार्यक्रमहरु गरी बीपी कोइरालाको १०७ औं जन्म जयन्तीको मनाउने तयारी गरेको बीपी कोइराला युवा नेतृत्व विकास मञ्च सुनसरीले जनाएको छ ।

महामानव कोइरालाको जन्म जयन्तीका अवसरमा खासगरी युवावर्ग र विद्यार्थीलाई आ-आफ्ना प्रतिभा देखाउने अवसर दिएको बताउदै बीपी कोइराला युवा नेतृत्व विकास मञ्च सुनसरीका अध्यक्ष प्रकाश कार्कीले यसरी कार्यक्रम गर्दा उनीहरूले घर बसेर आफ्ना प्रतिभा देखाउनुका साथै आकर्षक पुरस्कारको समेत जित्न सक्ने व्यवस्था गरिएको बताए ।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्च सुनसरीले भदौ ११ गतेदेखि 'बृहत प्रतिभा प्रस्फुटन कार्यक्रम' नाम दिएर विभिन्न तीन विधामा कार्यक्रम गर्न लागेको छ । युवा नेतृत्व विकास मञ्च सुनसरीका अध्यक्ष कार्कीका अनुसार कोरोना भाइरसले मानव जगत संकटमा परेको अवस्थामा कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्न 'टिकटक प्रतियोगिता' राखेको छ ।

उक्त प्रतियोगिता मार्फत प्रतियोगीहरुले कोरोना भाइरसबाट समाजमा परेको असर, त्यसबाट बच्न सकिने उपाय, संक्रमित व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण,सुधार गर्नुपर्ने पक्ष,फ्रन्ट लाइनमा ज्यान जोखिममा राखेर सेवा दिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी उपर भइरहेको दुर्ववहारका आफ्नो प्रस्तुति मार्फत उजागर गर्दै उनीहरूको मनोबल उच्च राख्न सकिने उपायका बारेमा अभिनय गर्नुका साथै कोरोना भाइरस सम्बन्धि जानकारीमूलक कुरा देखाउनुपर्ने हुन्छ ।

त्यसैगरी 'देश विकास र राजनीतिमा युवाको भूमिका' नामक शीर्षकमा राखेको वक्तृत्वकला मार्फत तीन मिनेटमा इच्छुकहरुले आ आफ्नो प्रस्तुति देखाउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो बीपी कोइरालाको तस्बिरलाई आकर्षक चित्रकला बनाई लकडाउनमा घरमै बसी दिन बिताइरहेका विद्यार्थी तथा युवावर्गले आफूभित्र भएका प्रतिभा देखाउनुका साथै पुरस्कार समेत जित्न सक्नेछन् ।

त्यसरी सहभागी हुने प्रत्येक विद्याका प्रथम हुनेले पुरस्कार स्वरूप ८ हजारका दरले पाउनेछन् भने क्रमश दोस्रो र तेस्रो हुनेलाई ४ हजार र २ हजार पुरस्कारको व्यवस्था गरिएको छ् । पुरस्कृत गर्नुभन्दा लकडाउनका बेला समयको सदुपयोग गर्दै विद्यार्थी र युवावर्गभित्र भएका प्रतिभा बाहिर ल्याउने हेतुले आफूहरूले बीपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसर पारेर तीन विद्यामा कार्यक्रमहरु गर्न लागेको अध्यक्ष कार्कीको भनाइ छ । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च सुनसरीले भदौ २४ गते बीपी जयन्तीको अवसरमा एक कार्यक्रम गरी तीनवटै विद्याको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।