विराटनगर / साल्ट ट्रेडिङ क्षेत्रिय कार्यालय विराटनगरमा रासायानिक मल खरिद गर्दा सहकारीलाई लाग्ने बाध्यकारी नियम हटेको छ ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलाई मल वितरण गर्ने सहकारीको स्वच्छाले रासायनिक मल विक्री वितरण गर्न साल्ट ट्रेडिङलाई निर्देशन दिएपछि बाध्यकारी नियम हटेको हो । मन्त्रालयले बिहीबार सहकारीको चाहना अनुरूप मल खरिद गर्न साल्ट ट्रेडिङलाई निर्देशन दिएपछि शुक्रबारदेखि सहकारीहरूको स्वइच्छाले मल खरिद गर्दै आएका छन् ।

ब्लाष्टले साल्ट ट्रेडिङको बदमासी बारे ‘एसएसपी मल जवरजस्ती कृषकलाई भिडाउँदै’ शिर्षकमा समाचार प्रकाशित गरेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले साल्ट ट्रेडिङका क्षेत्रिय प्रमुख राधेश्याम चौधरीलाई बाध्यकारी नियम हटाउन निर्देशन दिए । यस अघि युरिया किन्दा सहकारीहरूलाई जबर्जस्ती सिंगल सुपर फास्फेट (एसएसपी) मल किन्न सल्ट ट्रेडिङ कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय विराटनगरले बाध्य बनाउने गरेको थियो । एसएसपी मल र साबुन खरिद नगरे सहकारीलाई यूरिया मल नदिने भएकोले सहकारीहरू बाध्य भएर मल खरिद गर्दै आएका थिए । जसले गर्दा अतिरिक्त आर्थिक भार कृषकले झेल्नु परेको थियो ।

एसएसपी मल नकिन्ने किसानलाई युरिया मलबिनै कतिपय सहकारीले फिर्ता पठाउने गरिएको छ । त्यसैले किसान दुवै मल किन्न बाध्य थिए । सहकारीहरूलाई १ सय बोरा युरिया खरिदमा अनिवार्य २५ बोरा एसएसपी र ६ कार्टुन साबुनको बिल काटने गरेको थियो । शुक्रबारदेखि साल्ट ट्रेडिङको बाध्यकारी नियम हटेको हो । मोरङ बेलबारीका शुक्रपथ कृषि सहकारीका संचालक लाक्पा भुटियाले शुक्रबारदेखि स्वइच्छाले रासायानिक मल खरिद गरेको बताए । ‘यसअघि यूरिया मल खरिदमा २५ प्रतिशत डिएपीको बिकल्पको रूपमा एसएसपी खरिद गरेर लैजानुपर्ने बाध्यकारी नियम थियो,’ साल्ट ट्रेडिङमा मल खरिद गर्न आएका सहकारी संचालक भुटियाले भने, ‘शुक्रबारदेखि बाध्यकारी नियम हटेछ । त्यही भएर अहिले कृषकलाई आवश्यक परेको यूरिया मल हो । मैले त्यही मात्र लगेको छु ।’

साल्ट्र ट्रेडिङमा तीन थरी मुल्य पर्ने एसएसपी मल छ । प्रतिबोरा ९ सय ६०, १ हजार २० र १ हजार ४० रुपैयाँको एसएसपी मल रहेको छ । गतवर्षकै साल्ट ट्रेडिङमा ११ हजार ९ सय बोरा अर्थात ५ सय ९५ मेट्रिक्टन एसएसपी मल रहेको स्टक रहेको छ । गैरअनुदानको एसएसपी मल कोटा अनुसार विक्री गर्दा कम्पनीले विदेश गुमाउन र कर्मचारीलाई निश्चित कमिसन दिने भएकोले सहकारीलाई जवरजस्ती भिडाउने गरेको स्रोतको दाबी छ । साल्ट ट्रेडिङ क्षेत्रिय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले जबर्जस्त रुपमा सहकारीहरुलाई गैरअनुदानित एसएसपी मल नभिडाइएको दावी गर्दछन् । ‘पहिले पनि जवरजस्ती भिडाएको थिइन्,’ उनले भने, ‘अहिले पनि छैन ।’ कोही पनि सहकारीले जवरजस्ती कृषकको चाहना विपरीत मल र साबुन विक्री वितरण गरेको पाइए त्यस्ता सहकारीलाई कारबाही गर्ने उनको भनाई छ ।