संखुवासभा । संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार निषेधाज्ञा गर्ने निर्णय गरेको हो । गयराती १२ बजेबाट भदौ १८ गतेसम्म पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । निषेधाज्ञामा पूर्ण रुपमा सवारीसाधन बन्द, बजार बन्द, अत्यावश्यक बाहेक हिडडुल बन्द गरिने छ ।
अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछ । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतिय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ । यसअघि प्रशासनले १० दिने जिल्ला लकडाउन गरेको थियो ।
जिल्लामा शुक्रबार थप २ जनामा कोरोना संक्रमण देखिएको थियाे । हिरासतमा रहेका ३३ वर्षिया महिला र २८ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसोलेसनमा राखिने अस्पतालले जनाएको छ । हालसम्म संखुवासभामा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये ९ जना उपचार पछि घर फर्किसकेका छन् ।
शुक्रबार नै आईसोलेशनमा रहेको ४ जना निकाे भएपछि घर फर्काइएकाे छ । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएसंगै घर फर्काईएको अस्पतालका मेसु डा श्याम सुन्दर झाले बताए । ६ जनाको भने खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसोलेसनमा उपचार भईरहेको छ ।