पथरीशनिश्चरे/ खाइलाग्दो ज्यानकी सज्जा चौलागाईंको ‘बोल्ड स्वर’ यतिबेला नेपाल आइडल–३ को मञ्चमा निकै चर्चाको विषय बनेको छ । उत्कृष्ट तीनमा पर्न सफल सज्जालाई तेस्रो संस्करणको विजेताको रूपमा हेरिन थालेको छ ।

उनले एपीवान टेलिभिजनमा हरेक शुक्रबार राति प्रसारण हुने ‘फ्रेञ्चाइज रियालिटी शो नेपाल आइडल–३’ मा विजेता बन्ने सपना पालेकी छन् । ‘हेरौं कसो हुन्छ, पहिलो महिला नेपाल आइडल बन्ने मेरो सपना छ’ –काठमाडौंमा रहेकी उनले टेलिफोनमा भनिन् । तर, जित्नका लागि उनलाई भोटिङ नै निर्णायक हो ।

त्यसैले एसएमएस भोटिङमार्फत् जिताउनका लागि सबैलाई उनले आह्वान गरेकी छन् । उनी मोरङ पथरीशनिश्चरे–२ बोक्रेचोककी हुन् । सज्जाले प्रदेश १ को प्रतिनिधित्व गरिरहेकी छन् । पहिलो पटक नेपाल आइडलमा चेलीलाई ल्याउने ध्याउन्नमा उनका आफन्त र शुभचिन्तक लागेका छन् । उनीहरू प्रचार–प्रसारमा जुटेका छन् । गत चैतमा पथरीशनिश्चरे क्षेत्रका सामाजिक अगुवाहरू भेला बसेर सज्जालाई जिताउन लागिपरेका छन् ।

सिर्जना क्षेत्रसँग नजिक रहेका पर्शुराम न्यौपाने र विश्वमणि निरौलाको पहलमा सज्जाका बुबा टङ्क, भाइ सविनसहित अहिले सक्रिय भएर लागिपरेका छन् । ‘यस्ता प्रतिभालाई नगरको मात्र नभएर नेपालकै शानमा रूपान्तरण गर्न कुनै वाद या पक्ष नभनी सबैएक भई अघि बढ्नु आवश्यक छ’–पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राईले भेलामा भने । २२ वर्षीया सज्जा सबैखालका गीत गाउन सक्षम छिन् । ‘वारि तुवाँलो पारि कमै तुवाँलो’ बोलको पूर्वेली लोकलयको पैसा टिपुवा मारुनी गीतले प्रतिस्पर्धामा उनको थप उचाइ बढायो । तर, उनको ‘जनरा’ भने पप र रक हो ।

नियोनिक मोडर्न एकाडेमी गोकर्णेश्वरबाट एसएलसी र इम्पोरल हाइयर सेकेण्डरी स्कुलबाट प्लस टु सकेकी उनले साथीहरूसँग मिलेर द लोडिङ ब्याण्ड खोलेकी छन् । तीन वर्षअघि शुरु भएको यो ब्याण्डमा पेम्वा छिरिङ, सुशान्त सापकोटा र अविनाश अछामी पनि छन् ।

तीन वर्षको अवधिमा रेष्टुरेण्टमा गाउने अवसर मिलेपछि उनले स्वरलाई थप निखार्ने मौका पाइन् । हालसम्म सङ्गीतको ‘सारेगमप’ बारे ज्ञान छैन । तर, गायकीलाई हेर्दा निकै खारिएको छ । ‘हेर्दाहेर्दै सुन्दासुन्दै नै सङ्गीतको बेसिक कुरा थाहा भयो । त्यसकै आधारमा नेपाल आइडल बन्न सक्नेसम्मको आँट जागेको छ’–उनले भनिन् ।

त्यसो त नृत्य र चित्रकलामा पनि उनको कम दक्षता छैन । तर, गाउनमा जति खुल्छिन्, अरूमा त्यति खुल्दिनन् । उनको प्रस्तुति देखेर गायिका ज्ञानु राणाले दिएको स्याबासीले उनलाई थप प्रेरणा मिल्यो । उनको कला देखेर परिवार दङ्ग मात्रै छैन, जिताउनका लागि कम्मर कसेर लागेका छन् ।

सामान्य परिवारमा जन्मिएकी सज्जाको आमा गीता वैदेशिक रोजगारी अन्तर्गत साइप्रसमा छिन् । बुबा टङ्क पनि वैदेशिक रोजगारीका भुक्तभोगी हुन् । तर, अहिले काठमाडौंतिरै सानो व्यवसाय चलाएर छोरीको गायकीलाई नेपालको शान बनाउन चाहन्छन् ।