कालाबञ्जार/ सहयोगबाटै निर्माणाधीन वराहक्षेत्र नगरपालिका–३ को वडा कार्यालय भवनका लागि नेपाल दशनामी समाज वराहक्षेत्रले पनि आर्थिक सहयोग गरेको छ ।

शुक्रबार ४० हजार ३ सय ५ रुपैयाँ आर्थिक सहयोग गरिएको समाजका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए । जनसमुदाय तथा वैदेशिक रोजगारीमा रहेका स्थानीयको सहयोगले भवन निर्माण गरिँदै आएको छ ।

भवन निर्माणपूर्व वडा कार्यालय कहाँ बनाउने भन्ने विवाद देखिएको थियो । नगरपालिकाले तोकेको स्थानमा वडा कार्यालय बनाए मात्रै बजेट दिने बताएपछि वडाध्यक्ष रुद्र दाहाललगायतले सहयोग सङ्कलन गरेरै भवन निर्माण गर्ने उद्घोष गरेका थिए । वडा र नगरपालिकाबीच भवन निर्माणमा केही समय विवादसमेत सिर्जना भएको थियो । वडाबासी पनि दुई तहमा विभक्त बनेका थिए ।

भवन निर्माणका लागि २२ लाख रुपैयाँभन्दा बढी खर्च भएको भवन निर्माण समितिका अध्यक्ष केशव पुरीले जनाए । हालसम्म २४ लाख १४ हजार रुपैयाँ विभिन्न दाता तथा विदेशबाट सहयोग सङ्कलन भएको उनले बताए ।

निर्माण समितिका कोषाध्यक्ष भीमदल राईले करिब ६ लाख रुपैयाँ हार्डवेयर व्यवसायीलाई तिर्न बाँकी रहेको बताए । जनसमुदायबाटै वडा कार्यालय भवन निर्माण भएकाले समाजले आफ्नोतर्फबाट केही सहयोग गरेको समाजका अध्यक्ष गिरीले बताए । भवन आज (आइतबार) उद्घाटन गरिँदै छ ।