धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको विवाद समाधान गर्न गठित कार्यदलले आज प्रतिवेदन बुझाएको छ ।

असार १० गतेदेखि सुरु भएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको विवाद टुङ्ग्याउन गठित कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको हो । नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ ।

अध्यक्षद्वयले साउन २९ गते कार्यदल गठन गरेका थिए भने गठित कार्यदललाई नेकपाको सचिवालय बैठकले भदौ १ गते अनुमोदन गरेको थियो । एक सातामा प्रतिवेदन बुझाउने गरी कार्यदललाई जिम्मेवारी दिइएको थियो । सचिवालयले पाँच दिन लगाएर प्रस्ताव तयार गरेको हो ।

कार्यदल बनेपछि अध्यक्षद्वयबीच दैनिकजसो भेटघाट हुँदै आएको थियो । पार्टी विभाजनको सङ्घारमा पुगेपछि कार्यदल गठन गरेर विवाद साम्य पार्ने प्रयास गरिएको थियो । कार्यदलले लामो छलफल गर्दै प्रतिवेदन टुङ्ग्याएपछि अध्यक्षद्वय ओली र दाहाललाई बुझाइएको छ ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठक विवादका कारण अनिश्चित बनेको थियो । असार १३ गते अध्यक्षद्वयले स्थायी कमिटीमा आआफ्नो निर्णय गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । जसले गर्दा पार्टी विभाजनको नजिक पुगेको थियो ।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा भारतीय दूतावासको सक्रियतामा आफ्नै पार्टीभित्रका नेताले सरकार ढाल्ने प्रयास गरेको आसयको अभिव्यक्तिपछि दाहाल समूह र माधवकुमार नेपाल समूह रुष्ट बनेका थिए । त्यसयताको स्थायी कमिटी बैठक पटक–पटक सर्दै आएको थियो । नेकपा विभाजनको सङ्घारमा पुगेपछि प्रतिनिधिसभाका झण्डै ७० जना सदस्यले सामूहिक हस्ताक्षर गर्दै पार्टी विभाजन गर्न नहुने तर्क गरेका थिए ।

त्यसलगत्तै दुई अध्यक्षबीचमा साउन २८ र २९ गते भएको छलफलपछि विवाद समाधान गर्न कार्यदल गठन गरेको हो । दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा राजीनामा दिनुपर्ने तर्क गर्दै आएका थिए । दाहालले पार्टी विधि र पद्दतिअनुसार चल्नु पर्ने तर्क गर्दै आएका थिए ।

कार्यदलमा महासचिव पौडलसहित भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, शङ्कर पोखरेल सदस्य रहेका थिए । कार्यदलमा ओली निकटका दुई जना, नेपाल समूहका दुई जना र दाहाल समूहका दुई जना सदस्यमा राखिएका थिए ।