धरान  / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले कोरोना भाईरस(कोविड–१९) को महामारी जिल्लामा भयाभ भएको भन्दैं सबै सचेतना अपनाउन जिल्लावासीहरुलाई आव्हान गरेको छ ।
पार्टी जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) र सचिव रमेशकुमार बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै जिल्लावासीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइ स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आव्हान गरेका छन् ।
सुनसरीमा कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ । तीमध्य १२८ जना निको भएर घर फर्केका छन् । विहीबार मात्र १५ जना संक्रमित थपिएका छन् । धरान १५ का एक जनाको ज्यान समेत भएको यो अवस्थामा लकडाउनलाई पूर्णपालना गर्नुको कुनै विकल्पन भएको सचिव बस्नेतले बताएका छन् ।

जिल्लावासीलाई सकेसम्म घर बाहिर ननिस्कन विज्ञप्तिमा भनिएको छ । अति आवश्यक भएर घर बाहिर निस्कनु परेमा स्वास्थ्य मापदण्ड अपनाएर माक्स, सेनिटाइजर प्रयोग गर्न पनि भनिएको छ ।
पछिल्लो समय संक्रमितहरुलाई हेला गर्ने, संक्रमित क्षेत्रलाई बार लगाएर तथा पम्प्लेट टासेर अपमान गर्ने काम भइरहेकाले यस्ता काम नगर्न पनि पार्टिले आग्रह गरेको छ ।
पार्टीले कोरोना भाइरस संक्रमणबाट बच्न स्थानीय सरकार, प्रदेश र संघले नियन्त्रणका लागि गरेको प्रयासमा सहयोग गर्न र कार्यन्वयनका लागि पहल गर्न पनि भनिएको छ ।