धरान । भारतका महान शास्त्रीय गायक पण्डित जसराजको ह्रदयघातका कारण अमेरिकामा सोमबार बिहान मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीपछि सुरु भएको लकडाउनका कारण उनी अमेरिकाको न्यूजर्सीमा नै रहेका थिए । गायक पण्डित जसराजका छोरी दुर्गाले सोमबार बिहान मृत्यु भएको आधिकारिक जानकारी दिइन् ।

उनको अमेरिकी समय ५ बजेर १५ मिनेटमा ह्रदयघातका कारण मृत्यु भएको परिवारले जानकारी दिएको छ । परिवारले लेखेको छ,–‘दुःखको साथ भन्नु परिरहेको छ, शास्त्रीय संगीतका हस्ती पण्डित जसराज ह्रदयघातका कारण मृत्यु भएको छ ।’

उनको ९० वर्षको उमेरमा निधन भएको हो । गत जनवरीमा मात्रै उनले ९० औं जन्मदिन बाँडेका थिए । उनले जीवनको अन्तिम प्रस्तुति अप्रिल ९ तारिखका दिन फेसबुक लाइभमार्फत वाराणासीको संकटमोचन हनुमान मन्दिरका लागि दिएका थिए ।

शास्त्रीय संगीतमा निकै लोकप्रियता कमाएका उनी जसरंगी अन्दाजमा गाउँदै आएका थिए । उनले भारत, क्यानडा, अमेरिकालगायतका देशमा आफ्ना शिष्यलाई संगीत सिकाउनका लागि पुग्ने गरेका थिए ।

उनी आफू पनि आफ्ना शिष्यबाट सिक्न सधै लालायित हुने गरेका थिए । सन् १९३० जनवरी २८ का दिन हरियाणा प्रान्तको हिसारमा जन्मिएका उनी आठ दशकभन्दा बढी संगीत क्षेत्रमा बिताएका थिए ।

थुप्रै सम्मानबाट विभुषित बनेका उनलाई सरकारले थप सम्मान प्रदान गर्नका लागि गत वर्षको अगस्टमा ‘इन्टरनेशनल एस्ट्रोनाँमिकल यूनियन (आईएयु)’ को सौर्यमण्डलको एक ग्रहको नाम उनको नाममा राखिएको थियो ।

यो सम्मान पाउने उनी पहिलो भारतीय कलाकार हुन् । उनीभन्दा अगाडि यो सम्मानबाट मोजार्ट बिथोवन र टेनर लुसियाने पावारोत्तिलाई सम्मानित भएका थिए ।