धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गा प्रतिष्ठान प्रशासनले व्यापारीलाई जिम्मा लगाउन लागेको भन्दैं नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघले आपत्ति जनाएको छ ।

धरान नेपाली कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानीय निकाय र सरोकारवालाहरुसँग कुनै समन्वय नगरी उपकुलपित र स्वास्थ्य मन्त्रीको स्वार्थमा भएको यस्तो खेल तत्काल रोक्न माग गरेका छन् ।

स्व. वीपी कोइरालाको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानको वृत्ति विकासको लागि जोडिएको सुन्दरहरैचामा रहेको जग्गा नेकपा नेताको नाममा दिन लागेको पनि आपत्ति जनाएका छन् ।
सुन्दर हरैचाको वीपीको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव कार्यकारिणी समितिबाट पास गरिसकेको भन्ने जानकारी पाएकोले यो कार्य तत्काल रोक्न तरुण दलको नगर अध्यक्ष हिमाल श्रेष्ठले पत्रकारसम्मेलनमा माग गरेका थिए ।

उनीहरुले सयुक्त विज्ञप्ति नै जारी गरि व्यक्तिगत स्वार्थको लागि आह्वान गरिएको सिनेट बैठक तत्काल स्थगित गर्न पनि माग गरेका छन् । ४ महिना अघि उद्घाटन भएको कोभिड अस्पताल संत्रचालन नगर्ने दोषीलाई कारवाही गर्नसमेत माग गरिएको छ ।

तरुण दलको नगर अध्यक्ष हिमाल श्रेष्ठ, क्षेत्र नं १ का अध्यक्ष सम्पूर्ण ताम्राकार र  महेन्द्र क्याम्पस स्ववियु सचिव दाेर्जी शेर्पाले सयुक्त विज्ञप्ति जारी गरि १५ बुँधे माग अघि सारेका छन् ।