भद्रपुर । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनलाई फेरि किनारा लगाउँदै उपाध्यक्ष डम्बरबहादुर गिरीसहितले सातौं गाउँसभा सम्पन्न गरेको घोषणा गरेका छन् ।
असार १० गतेको गाउँसभाको पहिलो बैठकमा विवाद भएर रोकिएपछि सोमबार बोलाइएको दोस्रो बैठकमा उपस्थित सदस्यको गण पुरक सङ्ख्या नपुगेको भन्दै अध्यक्ष लिङ्देनले गाउँसभा स्थगित गरेका थिए ।
तर, सभा शुरु नै नगरी सभा स्थगन भएको भन्दै अध्यक्ष लिङ्देनले आफ्ना सदस्यसहित बाहिरिएपछि २३ जना सदस्यहरुले उपाध्यक्ष गिरीको अध्यक्षतामा गाउँसभाको दोस्रो बैठक सम्पन्न गरेको घोषणा गरेका थिए ।
अध्यक्षले सभा स्थगन गरेपछि बहुमतका २३ सदस्यहरुको छलफल र मरामर्शबाट सोही दिनको साँझ ७ बजे सभा सम्पन्न गरिएको उपाध्यक्ष गिरीले बताए । अध्यक्ष बाहिरीएपछि पटक– पटक अनुरोध र बारम्बार टेलिफोन गरेर साँझ ५ बजेसम्म बोलाउँदा समेत सहभागि नभएपछि बहुमतका सदस्यहरुबाट ३४ वटा निर्णय गर्दै सभा सम्पन्न गरिएको उनले जनाए ।
गाउँसभा सम्पन्न भएको दावीसहित गाउँपालिकाको काम कारबाही मङ्गलबारबाट शुरु गर्ने निर्णय गरेको उनले बताए । गाउँसभा सम्पन्न भई मङ्गलबारबाट गाउँपालिकाको काम कारबाही सुचारु भएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सूचना जारी गरी जनाएका थिए ।
सातौं गाउँसभाको दोस्रो बैठकले रोकिएको काम कारबाही सबै वडा कार्यालय तथा सम्बन्धित निकायले शुरु गर्ने, गाउँसभाको निर्णय तथा प्रमाणीकरण उपाध्यक्षले गर्ने लगायतका निर्णय गरेको छ ।
गाउँसभाको पहिलो बैठकमा अध्यक्षबिना प्रमाणीकरण भएको बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयन पनि अध्यक्ष विना नै हुने गिरीको भनाइ छ । जनतालाई अनिर्णयको बन्दी बनाउन अध्यक्षले खोजेको र आफुहरुले निकास निकालेको समेत जिकिर गरेका छ्न । साविकका प्रशासकीय अधिकृतको सरुवा भइसकेकोले आउने नयाँ अधिकृतलाइ सहज होस भन्ने हेतुले आर्थिक र वित्तीय विधयेकको पनि सभाले उपाध्यक्षलाई अख्तियारी दिएको उनले बताए ।
सभा सम्पन्न भएको विषयमा आफुलाइ जानकारीमा नआएको पालिका अध्यक्ष लिङ्देनले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७५ को १४ नम्बर बुद्दामा सभामा तत्काल कायम रहेका एक सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा अधिवेशनका लागि गणपूरक सङ्ख्या पुगेको मानिने उल्लेख भएबमोजिम ६ जनाले मात्र उपस्थित जनाएपछि बैठक स्थगित गरिएको उनले जनाए । कानूनले दिएको आधारमा काम गर्ने हो अरु आफुलाइ थाहा नभएको उनको भनाइ छ ।
कानुनभन्दा बाहिर जो जान्छ उसैलाइ समस्या हुने उनको भनाइ थियो । प्रशासकीय अधिकृत र अध्यक्ष उपस्थित नभएको सभामा जनप्रतिनिधीले सभा सम्पन्न गर्ने हो भने यी दुवैको पद पालिकामा किन ? उनले पश्न गरे । प्रशासकीय हाजिर भइसकेपछि छलफल गरेर गाउँसभाको बैठक बोलाइने उनले जानकारी दिए ।
सातौ गाउँ सभामा – उपाध्यक्ष डम्बरबहादुर गिरी – वडा १ अध्यक्ष त्रिलोचन सापकोटा सहित ५ सदस्य , वडा २ अध्यक्ष राजेन्द्र योङ्हाङ सहित ५ सदस्य वडा ३ अध्यक्ष रोषन शिवाकोटी सहित ५ सदस्य वडा ४ अध्यक्ष होमप्रसाद चुडाल सहित ५ सदस्य र प्रवक्ता सागर पोर्तेल तथा कार्यपालिका दलित सदस्य सहिद २९ जनामा २३ जनाको बहुमतले गाउँ सभा सम्पन्न गरेको उल्लेख छ ।