काठमाडौं/ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो । विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिमा दिलकुमारी रावल सभापतिमा निर्विरोध भएका हुन् ।

सिंहदरबारमा आइतबार शपथ ग्रहणपछि पत्रकारसँग कुराकानीका क्रममा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति बिडारीले महामारी रोग फैलिरहेको र संसद् बैठक पनि नभएका बेलामा संसदीय समिति नै संसद्को काम गर्ने मुख्य थलो रहेको उल्लेख गर्दै सरकार, संवैधानिक अङ्ग र कानूनअनुसार स्थापित संस्थालाई सदनप्रति उत्तरदायी बनाउन समितिले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘वर्तमान परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर मुलुकको कानून देश र जनताको हितका निम्ति मात्रै बन्छन्, राष्ट्रिय महŒवका विषय संरक्षित हुन्छन् र सरकारले बोलेका कुरा लागू गरिन्छ भन्ने कुराको अनुभूति दिलाउने विषय मुख्य चुनौती रहेकाले त्यसतर्फ समिति केन्द्रित हुनेछ ।’

सोही क्रममा राष्ट्रिय सरोकार समितिका सभापति रावलले राष्ट्रिय गौरवका योजना भनिए पनि २०–२५ वर्षसम्म सम्पन्न नहुने जटिलता कायमै रहेको सन्दर्भमा गुणस्तरयुक्त बनाएर समयमै सम्पन्न गर्न सके समृद्धिको योजना साकार पार्न कोसेढुङ्गा सावित हुने भएकाले त्यसतर्फ समितिको ध्यान गएको बताए ।

उनले राष्ट्रिय सुरक्षा, मानवाधिकार र पछाडि पारिएका समुदायको अधिकारको विषयलाई ध्यान दिँदै त्यसतर्फ लाग्ने प्रतिबद्धता जनाए । तीन तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको कानून पारित भएको स्मरण गर्दै सभापति रावलले त्यसलाई कार्यान्वयन गर्न वर्तमानमा देखिएको समन्वय, योजना कार्यान्वयन र कर्मचारी व्यवस्थापनमा देखिएको कमजोरीका विषयमा केन्द्रित गरेर विशेष योजनाका साथ समिति अघि बढ्ने बताए ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुई–दुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका एक र पुनः निर्वाचित सभापति बिडारी भने राष्ट्रपतिबाट मनोनित सांसद् हुन् ।