भद्रपुर / विभिन्न नमुना योजना ल्याएर गत वर्ष चर्चामा आएको झापाको हल्दीबारी गाउँपालिका यो वर्ष विवादले चर्चामा आएको छ । आगामी वर्ष०७७/७८ को बजेट ,नीति तथा कार्यक्रम प्रस्तुत् गर्ने विषयमा अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र उपाध्यक्ष डम्बर बहादुर गिरीको समूहबिच विवाद बढेर गएपछि गाउँपालिका चर्चामा आएको हो ।
विवादका कारण चालु आर्थिक वर्षको कामकाज ठप्प भएको छ भने हालसम्म सहमति अन्यौलमा देखिएको छ ।
असार १० गते डाकिएको सातौं गाउँसभाका क्रममा दुवै पक्षको अहम्ताका कारण सो विवाद भएको थियो । अझै दुवै पक्षको अडान र अहम्ता कायम रहेकाले लिङदेनले साउन २६ गते दिनको १ बजेका लागि बोलाएको गाउँसभाको दोस्रो बैठकमा सहमति जुट्ने छाँटकाँट देखिएको छैन ।
विवाद देखिएको पहिलो बैठकको प्रमाणीकरणका बारेमा गाउँपालिकाका अध्यक्ष लिङदेन र उपाध्यक्ष डम्बर गिरीबीच कुरा नमिलिसकेका कारण दोस्रो बैठक औचित्यपूर्ण हुने कुरामा आशङ्का देखिएको छ ।
सातौँ गाउँसभाको २६ गते हुने दोस्रो बैठक सञ्चालनका सम्बन्धमा शुक्रबार कार्यपालिकाको बैठक बोलाइएको थियो । त्यस बैठकमा दुवै पक्ष आ—आफ्नो अडानमा कायम रहे । अध्यक्ष लिङदेनले पहिलो बैठकमा उपाध्यक्षले बजेट, नीति तथा कार्यक्रम प्रमाणीकरण गरेर त्रुटी गरेको भन्दै त्यसलाई सच्याएर अर्को बैठक गर्नु पर्ने तर्क गर्दै आएका छन् ।
अध्यक्ष लिङदेनले स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँसभाको अध्यक्षता आफूले गरिसकेपछि कार्यक्रम छोडेर गएपनि कार्यक्रम अध्यक्षको हैसियतले प्रमाणीकरण पनि आफैले गर्न पाउनु पर्ने प्रावधान रहेको उनको दावी छ ।
उपाध्यक्षले पहिलो बैठकमा बजेट , नीति तथा कार्यक्रम पेस गरिसकेकाले अब त्यसपछिको अबस्थाबाट दोस्रो बैठक शुरुवात गर्दा उचित हुने उनले धारणा राखे । गाउँपालिका र गाउँपालिकाबासीलाई बन्धक बनाउन नहुने भन्दै दुवै पक्षले सच्चिएर जान तयार रहेको उनको भनाइ छ । उपाध्यक्षले आफै बजेट प्रस्तुत् गर्ने अनि आफै प्रमाणिकरण गर्ने यो कुन कानून हो उनले भने ।
अध्यक्षलाइ प्रमाणिकरण गर्ने ठाउँ समेत नराखी कानून विपरीत प्रमाणिकरण कसरी हुन्छ उनले भने । मैले उपाध्यक्षलाइ अख्तियारी पनि दिएको छैन अनि वहुमत र ठुलो ज्यान छ भन्दैमा कानुनलाइ कुल्चिएर काम गर्न नहुने उनको भनाइ छ । वैठक शून्यबाट शुरु हुनु पर्ने उनको अडान छ ।
उपाध्यक्ष गिरीले पहिलो बैठक र त्यसले गरेका कारबाहीलाई चलाउन नहुने अडान राख्दै आएका छन् ।
पहिलो बैठक बहुमतले प्रमाणिकरण भइसकेकोले अध्यक्ष लिङदेनले दोस्रो बैठक वोलाएको उनको भनाइ छ । दोस्रो बैठक भनिसकेपछि पहिलो बैठक स्वत पास भएको उनको भनाइ छ । गाउँपालिकाका सवै काम ठप्प भएका कारण तीनदिनको अल्टिमेटम सहित लिखित पत्र प्रशासकीय अधिकृतलाइ दिइसकेको उनले बताए ।