भोजपुर । प्रदेश नम्बर १ को सुनसरी ,मोरङ ,झापा लगाएत जिल्लामा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिए पछि भोजपुरमा सवारी पासमा कडाई गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले जिल्ला भित्रिने र वाहिरिने सवारी पासमा कडाई गर्ने निर्णय गरेको हो । बैठकले अन्तर जिल्ला यात्रा गर्दा अनिवार्य सवारी पास लिन आग्रह गर्दै पास नहुने सवारी साधनलाई यात्रा गरेकै जिल्ला फकाई दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

बैठकमा दश दिन सम्म जिल्ला बाहिर बसेका शिक्षक र कर्मचारीले अनिवार्य पिसिआर रिपोर्ट ल्याए मात्र जिल्ला प्रवेश दिने निर्णय भएको छ । स्थानीय तहहरुले शिक्षक तथा अन्य कर्मचारीहरुलाई कार्यालयमा अनिवार्य हाजिर हुन भनेपछि जिल्ला बाहिराका शिक्षकहरु भित्रिने क्रम बढेकाले यस्तो निर्णय गरिएको हो । पिसिआर रिपोर्ट नहुनेले अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने प्रजिअ पुरीले बताए । उनले भने “क्वारेन्टाइनमा बस्दा र पिसिआर गर्दा लागेको खर्च समेत स्वयम व्यक्तिले व्यहोर्नु पर्नेछ ।”

प्रजिअ पुरीका अनुसार जिल्ला भित्रका कभर्डहल , मठ मन्दिर , चर्च र गुम्बा बन्द गर्ने निर्णय भएको छ । सदरमुकामबाट ट्याक्सी रिर्जभ गरि जिल्ला वाहिरा जादाँको भाडादर समेत तोेकिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताए । लुईटेलले भने “भाडामा मनपरी भएको कारण भोजपुर देखि धरान र इटहरी सम्मको भाडा १४ हजार र विराटनगर सम्मको भाडा १५ हजार कायम गरिएको छ , बढी भाडा लिने सवारी साधनलाई कार्वाही हुन्छ ।”

यस्तै सदरमुकाममा रहेका होटलहरुलाई राती ९ बजे सम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ । बैठकले अधिकांश विद्यालयमा रहेका क्वारेन्टाईन हटाएर प्रत्येक पालिका केन्द्रमा २० शैयाको क्वारेन्टाईन निर्माण गर्न सबै पालिकाहरुलाई अनुरोध गर्ने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । भोजपुरमा गत बैशाख ११ गते हतुवागढी गाउँपालिकामा १ जना र जेठ २३ गते षडानन्द नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको थियो । उनिहरु सबै जना निको भएर घर फर्कि सकेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए ।